काठमाडौं । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको छ ।
‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन्,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौं ।’
नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधवार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो ।
कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
काउन्सिलको यस पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नोनेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ ।
त्यसलगत्तै महासंघ अध्यक्ष ढकालले नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव राखेका थिए । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको छ ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानूनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, शीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकाले लगानीका लागि आह्वान गरे ।