दशैंतिहारमा विदेश भ्रमणका लागि विभिन्न भ्रमण कम्पनीहरूले अहिले निकै ठूलो प्रडक्ट ल्याइरहेका छन् । ४/५ दिनदेखि १२/१३ दिनसम्मका पर्यटन प्याकेजका विज्ञापनले सामाजिक सञ्जाल रंगिएका छन् । नेपालभित्रकै भ्रमणका लागि भने ज्यादै कम प्याकेज छन् । पहिला नेपाल अनि विदेश भनेर नारा लगाए पनि अहिले नेपालीहरूमा विदेश भ्रमणको मोह निकै बढेको छ । एक अनुमानअनुसार विदेश भ्रमण गर्ने प्रवृत्तिमा २५ प्रतिशतसम्म वृद्धि भएको छ । अहिले हवाइ भाडा बढेकाले प्याकेज झन्डै दोब्बर महँगो छ तर विदेश जानेको संख्या भने बढेको छ ।
आउट बाउन्ड पर्यटन के हो ?
मुलुकबाहिर गरिने भ्रमणलाई आउट बाउन्ड पर्यटन भनिन्छ । अहिले भियतनाम विश्वमै सबैभन्दा सस्तो र निकै चर्चामा रहेको पर्यटकीय गन्तव्य हो । नेपालीहरूका लागि पनि यो नयाँ गन्तव्यमा आकर्षण बढेको पाइएको छ । २०/२५ जना जतिको टोली बनाएर विभिन्न ट्राभेल एजेन्सीले १ लाख १० हजारमा दशैंको आसपासमा भियतनाम लैजाँदै छन् । त्यस्तै सिंगापुर, बाली, थाइल्यान्ड, श्रीलंका, मलेशिया, मालदिभ्स, फिलिपिन्स, चीन भ्रमणका लागि पनि आकर्षक प्याकेजको विज्ञापन भइरहेको छ । यी सबै प्याकेज र अनुमानित संख्या हेर्दा दशैंतिहारको अवधिमा मात्रै हजारौं नेपाली पर्यटक बनेर विदेश जाने देखिन्छ । नेपालमा जति पर्यटक आउँछन् त्यसका दाँजोमा घुम्नकै लागि निस्कने नेपालीको अनुपात निकै कम देखिन्छ तर मुुलुकको भ्रमण आयभन्दा भ्रमण व्यय बढी देखिन्छ । अर्थात् विदेशीले नेपाल आएर गरेको कुल खर्चभन्दा बढी रकम नेपालीले विदेश भ्रमणका लागि खर्च गरिरहेका छन् ।
आउट बाउन्ड पर्यटनको अवस्था
तथ्यांकलाई हेर्ने हो भने पर्यटक बनेर नेपालीहरू २०२३ मा १५६ देशमा पुगेका छन् । यसरी जाने पर्यटकको संख्या २ लाख ४ हजार ५१८ रहेको छ जसमा पुरूषको संख्या १ लाख ३० हजार ९२६ छ भने महिलाको संख्या ७३ हजार ५७५ रहेको छ । सबैभन्दा बढी भारतमा साढे ७१ हजार नेपाली घुम्न गए । त्यसपछि क्रमश: युनाइटेड अरब इमिरेट्स, थाइल्यान्ड, चीन, अस्ट्रेलिया, सिंगापुर र मलेशिया पुगेका छन् । टोगो, उत्तर कोरिया, स्लोभाकिया, सोलोमन आइल्यान्ड, किरिबाटी, जमाइका जस्ता देशमा समेत नेपालीहरू पर्यटकका रूपमा पुगेको देखिन्छ । सन् २०२३ मा कुल १६ लाख ३ हजार ८३६ नेपाली विदेश गएका थिए । यसमध्ये ८ लाख ८ हजार ४१५ जना नेपाली कामको खोजीमा विदेशिएका थिए ।
नेपाली भनेको सस्ता श्रमिक मात्रै हुन्, नेपाल गरीबहरूको मात्रै देश हो भन्ने सोच धेरै मुलुकमा व्याप्त थियो । तर, नेपालीहरूले डलर खर्च गरेको देखेपछि नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण फेरिएको छ ।
२ लाख ४ हजार ५१८ जना नेपाली पर्यटन भिसा र घुमफिरको प्रयोजनमा विदेशिएका थिए । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पारिवारिक प्रयोजन, अध्ययन, तालीम/सभा–सम्मेलन, उपचार, व्यापार, खेलकुद, सांस्कृतिक कार्यक्रमसहितको प्रयोजनमा विदेश गएकाको संख्याबाहेक नै यति धेरै नेपाली पर्यटकका रूपमा विदेश गएका छन् । यो संख्या प्रत्येक वर्ष बढिरहेको छ । भ्रमण शीर्षकमा आयभन्दा बढी व्यय भएकाले नेपालीको यो विदेश यात्राको मोहबारे कतिपयले प्रश्न उठाएका छन् । यसबाट नेपालको पैसा विदेश जाने भएकाले यसलाई निरुत्साहित गरिनुपर्ने तर्क पनि प्रशस्त पाइन्छ ।
भारत जान भिसा नचाहिने र थोरै पैसा भए पुग्ने भएकाले नेपालीहरूका लागि स्वाभाविक रूपमा आकर्षक गन्तव्य हो । अझ भन्ने हो भने धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकनका लागि भारत निकै महत्त्वपूर्ण गन्तव्य हो । नेपालमा भारतीय पर्यटकको संख्या सर्वाधिक हुने गरेको छ भने नेपालीहरू विदेश जानेमा सबैभन्दा बढी भारत नै रहेको छ । तर, यूएई नेपालीको दोस्रो ठूलो गन्तव्य भए पनि त्यहाँबाट नेपाल आउने पर्यटकको संख्या निकै कम छ । एक वर्षको अवधिमा धेरै नेपाली घुम्ने मुलुकमध्ये दोस्रो स्थानमा रहेका युनाइटेड अरब इमिरेट्ससँगको पर्यटन व्यापारघाटामा देखिएको छ । गत १ वर्षमा यूएईबाट नेपाल घुम्न आउने पर्यटक मात्र ५५६ जना रहेको छ जब कि नेपालबाट त्यहाँ जानेको संख्या ५५ हजार ६ सय १८ रहेको छ । थाइल्यान्डसँगको पर्यटन व्यापार भने नाफामा देखिएको छ । थाइल्यान्डबाट नेपाल घुम्न आएका पर्यटकको संख्या २५ हजार ६७८ जना रहेको छ । भारतबाट सर्वाधिक ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आउँदा नेपालबाट ७१ हजार चानचुन नेपाली त्यहाँ पुगेका छन् । अमेरिकाबाट दोस्रो सर्वाधिक १ लाख ३५७ जना पर्यटक नेपाल घुम्न आएका छन् भने त्यहाँ ४ हजारभन्दा बढी नेपालीहरू विशुद्ध पर्यटक बनेर गएको पाइन्छ । यसरी नेपालमा आउट बाउन्ड पर्यटन दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
आउट बाउन्डप्रति किन आकर्षण ?
अहिले विश्वभरि नै पर्यटनप्रति आकर्षण बढ्नुको एउटा कारण सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालमा आफूले घुमेका ठाउँको फोटो हालेर देखाउनु भनेको एउटा स्टाटसजस्तो पनि बनेको छ ।केही नेपालीको आर्थिक हैसियत उकासिएको छ । छोराछोरी विदेशमा विभिन्न सिलसिलामा पुगेका छन् । त्यही भएर नेपालीहरूको घुमफिरको प्रवृत्ति पनि बढेको हो । जब कुनै देशको आर्थिक स्थिति सुधारिन्छ, मानिसमा अतिरिक्त खर्च गर्न सक्ने क्षमता बढ्छ पर्यटन पनि बढ्छ । खानलाउन नै ठिक्क भएको अवस्थामा कोही पनि भ्रमणमा निक्लँदैनन् । चीन र भारतमा मध्यम वर्गको वृद्धिसँगै विदेशी यात्राको संख्या बढेको देख्न सकिन्छ । नेपालमा पनि मध्यम वर्गको उदय भएको छ । विश्वभरका विभिन्न संस्कृति, भिन्नभिन्न परम्पराहरू र इतिहाशहरूको अध्ययन तथा अनुभव गर्न चाहने पर्यटक विदेश जान्छन् । नेपालमा पहाडी र हिमाली सौन्दर्य भए पनि मरुभूमि र समुद्र छैन । त्यस्तै ठूला ठूला विकसित शहर पनि छैनन् । त्यसैले यी कुराको अनुभव गर्न नेपालीहरू विदेश जान थालेका हुन् ।
पहिला नेपालीहरू पैसा साँचेर राख्नुपर्छ भन्थे । सन्तानका लागि जोगाउनुपर्छ भन्ने सोचाइ अझै पनि छ । तर, अचेल यस्तो सोचाइमा केही परिवर्तन भएको छ । लेखपढमा टाठा नेपालीहरू विदेशमा नै स्थापित हुने क्रम बढ्दो छ । त्यसले गर्दा यहाँको कमाएको पैसाले एकपटक विदेश हेरूँ न त भन्ने सोच नेपालीमा आइरहेको छ । कतिपय कम्पनीहरूले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न आफ्ना रिटेलर, भेन्डर आदिलाई वार्षिक रूपमा यी देशमा घुमाउन लैजाने प्रचलन पनि निकै छ । खासगरी थाइल्यान्डमा घुम्न जानेमा यस्ताको संख्या बढी रहेको देखिन्छ ।
हाम्रो ध्वजावाहक विमानले अन्य देशका धेरै गन्तव्यमा उडान गर्न सक्यो भने त्यहाँका पर्यटक यहाँ ल्याउन र यहाँका पर्यटक अन्य देशमा पुर्याउन धेरै सहज हुनेछ । त्यसबाट राष्ट्रले राम्रो लाभ प्राप्त गर्ने छ ।
अहिले प्रविधिमा भएको प्रगतिले पनि आउट बाउन्ड पर्यटनलाई प्रोत्साहित गरेको छ । अनलाइन बुकिङ प्रणाली र यात्रा समन्वयका लागि अनलाइन उपकरणहरूले पर्यटन सहज बनाएका छन् । गन्तव्य स्थानको बारेमा जानकारी प्राप्त गर्न, टिकट बुक गर्न र होटेल बुक गर्न सजिलो भएको छ । आफू घुम्न जाने ठाउँका बारेमा पर्याप्त जानकारी लिएर ती ठाउँको भर्चुअल भ्रमण गरेर घुम्न जाने प्रवृत्ति अहिले बढी छ । सामाजिक सञ्जाल र मिडियाहरू इन्स्टाग्राम, युट्युब र फेसबुकजस्ता प्लेटफर्महरूमा रमणीय दृश्य र अन्य यात्रा अनुभवहरू साझेदारी गर्ने लहरै चलेको छ । अनि गूगल म्याप प्रयोग गरेर गन्तव्य स्थलको दूरी आदिबारे जानकारी लिन सकिन्छ । जहाँ गए पनि एक्लै घुम्न सक्ने अवस्थासमेत अहिले छ । भाषाको समस्यालाई पनि गुगलले सजिलो पारिदिएको छ । अनुवाद र चित्रलाई शब्दमा रूपान्तर गर्ने एपहरूका लागि विदेश यात्रा अहिले झन्झटिलो छैन । चीनमा पुगे पनि फ्रान्समा पुगे पनि भाषाले समस्या पार्दैन । त्यसैले आउट बाउन्ड पर्यटनको लहर बढिरहेको छ ।
आउट बाउन्डबाट के फाइदा ?
आउट बाउन्ड पर्यटनमा नेपालीको आकर्षण बढ्नुलाई सकारात्मक रूपमै लिनुपर्छ । केही समय अघिसम्म वैदेशिक रोजगारीमा जाने नेपालीलाई नै आउट बाउन्ड टुरिष्टका रूपमा गन्नुपर्ने अवस्था थियो । नेपाली भनेको सस्ता श्रमिक मात्रै हुन्, नेपाल गरीबहरूको मात्रै देश हो भन्ने सोच धेरै मुलकमा व्याप्त थियो । तर, नेपालीहरू पर्यटनमा गएर डलर खर्च गरेको देखेपछि ती देशका नागरिकको नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण फेरिएको छ । आउट बाउन्डको सबैभन्दा ठूलो फाइदा हो, यो ।
अहिले विशुद्ध रूपमा घुमफिरकै लागि विदेश जाने संस्कृति विकास भएको छ । खासगरी खुला अर्थतन्त्रको ढोका खुलेपछि नेपालीले रोजगारी र आयआर्जनको नयाँ बाटो अपनाउन थाले । ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जानुजस्ता विविध कारणले नेपालीको सरदर जीवनस्तर माथि उठ्दै गयो । यही कारण पहिले भारतका विभिन्न धार्मिक तीर्थस्थलसम्म पुग्ने नेपाली पर्यटक अहिले विश्वका प्रमुख पर्यटकीय गन्तव्यमा पनि छ्यास्छ्यास्ती देखिन थालेका छन् । विश्वव्यापीकरणको प्रभावस्वरूप नेपाली जनता हिजोभन्दा धेरै नै शिक्षित र चेतनशील भएका छन् । नेपालीहरू अब संसारका नयाँनयाँ गन्तव्यमा पुग्न र त्यहाँको समाज र विकास प्रक्रियासँग साक्षात्कार हुन चाहन्छन् । यसले आउट बाउण्ड पर्यटनलाई प्रश्रय मिलेको छ । हामीकहाँ अहिले पनि संयुक्त परिवारमै बस्ने चलन छ । परिवारका सबै सदस्य मिलेर लामो बिदा मनाउन एशियालीका साथै यूरोप, अफ्रिकी मुलुकमा जाने संस्कृति पनि फस्टाएको छ ।
पर्यटन बोर्डले इन बाउन्ड पर्यटनका साथै आउट बाउन्ड आउट बाउन्ड होस् वा इन बाउन्ड दुवैप्रकारका पर्यटन प्रवर्द्धनको मुख्य आधारमध्ये राष्ट्रिय ध्वजावाहक विमान बलियो हुनुपर्छ । तर, हाम्रो राष्ट्रिय ध्वजावाहक विमान सेवा निकै कमजोर अवस्थामा छ । हाम्रो ध्वजावाहक विमानले अन्य देशका धेरै गन्तव्यमा उडान भर्न सक्यो भने त्यहाँका पर्यटक यहाँ ल्याउन र यहाँका पर्यटक अन्य देशमा पुर्याउन धेरै सहज हुनेछ । त्यसबाट राष्ट्रले राम्रो लाभ प्राप्त गर्ने छ ।
दिनको १८ घण्टासम्म परिश्रम गरेर उन्नतिको शिखरमा पुगेका देश र त्यहाँका जनतासँग साक्षात्कार हुने अवसर पनि आउट बाउन्ड पर्यटनले नेपालीलाई दिन्छ । वैदेशिक रोजगारीमा गएका र अध्ययन गरेर फर्केका नेपालीले वास्तवमै परिश्रम र समयको मूल्य बुझेर आएका हुन्छन् । विशुद्ध घुमफिरमा गएका नेपालीले पनि विदेशमा देखेका कुरालाई व्यहारमा उतार्ने प्रयास गरेका हुन्छन् । आउट बाउन्ड पर्यटनको यो
सबैभन्दा सकारात्मक पक्ष हो ।
हवाई सेवा प्रदान गर्ने व्यवसायका लागि इन बाउन्ड तथा आउट बाउन्ड दुवै प्रकारका पर्यटन लाभकारी नै हुन्छन् । यस्ता दुवै प्रकारका पर्यटनबाट राष्ट्रले प्रत्यक्ष लाभ लिन विभिन्न देशमा हाम्रो राष्ट्रिय ध्वजावाहक विमानको सेवा विस्तार गर्नैपर्ने हुन्छ ।
घुमफिरका क्रममा देखेका, सिकेका राम्रा पक्ष आफ्नो पेशा, व्यवसायमा लागू गर्नसके त्यसबाट देशले दीर्घकालीन रूपमा लाभ लिन सक्छ । नेपाली पर्यटन व्यवसायीले त्यताका व्यवसायीसँग साझेदारी गर्न सके पर्यटन क्षेत्रले लाभ लिन सक्छ । विभिन्न अन्तरराष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुनेको संख्या पनि बढ्दो छ । हुन त धेरै विदेशी पर्यटकलाई नेपाल भित्त्याउन सक्ने हो भने देशले तुलनात्मक हिसाबले राम्रो फाइदा लिन्छ । त्यसबाट होटल व्यवसायदेखि अन्य विविध क्षेत्र लाभान्वित हुन्छन् ।
धेरैलाई लाग्न सक्छ, आउट बाउन्ड पर्यटनबाट देशको मुद्राबाहिर जान्छ र यसले नेपालको पर्यटनलाई सहयोग गर्नुको सट्टा घाटा हुन्छ, विदेशी मुद्रा बाहिरिन्छ । तर, मानिस बाहिर जाँदा एक्लै जान्छ र फर्किंदा ऊ एक्लै फर्किंदैन । उसले साथमा त्यो देशको विकास, सभ्यता, स्वच्छ वातावरण, देशविकासमा लिइएका राम्रा नीतिनियमका अभ्याशहरूको सिकाइ पनि लिएर फर्कन्छ । पर्यटनको पूर्वाधारको विकासजस्ता विविध विषयमा पनि जानकारी लिएर फर्किन्छ । त्यस्तो सिकाइबाट उसले पेशा, व्यवसायमा सुधार ल्याउँछ, नयाँ व्यवसाय पनि थालनी गर्न सक्छ । त्यसैले आउट बाउन्डलाई नराम्रो भन्ने होइन कि यसबाट अत्यधिक लाभ लिने गरी सरकार र व्यवसायीले काम गर्नु आवश्यक छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।