काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ५१ प्रतिशत बढेर पुन: २६ सय विन्दुमाथि बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ६२१ दशमलव ८६ विन्दुमा पुगेको हो । मंगलवार बजार २ दशमलव १९ प्रतिशत घटेर साढे २ महीनापछि २६ सय विन्दुमुनि झरेको थियो ।
नेप्से बढे पनि टेवा क्षेत्रमै रहेको छ । बजारमा बलियो सपोर्ट रहेकाले भोलि बजार बढ्न सक्ने संकेत देखिएको जानकार बताउँछन् ।
आज नेप्सेमा सानो टुप्पी भएको हरियो मैनबत्ती आकृति बनेको छ । नेप्सेमा यो आकृति बन्नुले पनि आगामी दिनमा बजार बढ्ने संकेत देखाएको उनीहरूको भनाइ छ ।
यसअघिका दिनमा भने बजारमा 'वियरिश इन्गल्फिङ' ट्रेण्ड देखिएको थियो ।
आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा कम छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब १८ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब २० करोड बराबरको भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ ।
आज ३१७ धितोपत्रको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर ४८ हजार ७८५ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये राप्ती हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५२९ पुगेको हो ।
शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा बुद्धभूमि नेपाल हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५५ प्रतिशत बढेर रू. ५०८ दशमलव ९० कायम भएको छ ।
बुधवार उपकार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव २७ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४२५ मा झरेको छ ।
शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ । बैंकको शेयर मूल्य ५ दशमलव ११ प्रतिशत घटेर रू. १ हजार ६७० कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ४१ करोड ८६ लाख बराबरको कारोबार भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७९ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको रू. ३१ करोड ६३ लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०९ प्रतिशत वृद्धि भएको छ । त्यस्तै वित्त समूहको १ दशमलव ७५ प्रतिशत र होटल तथा पर्यटन समूहको सूचक १ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ ।