काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचक ४१.४३ अंक (१.५८ प्रतिशत) बढेको छ । यससँगै नेप्से परिसूचक २६६३.३० अंकमा कायम भएको छ ।
पछिल्ला १८ कारोबार दिन (गत फागुन १९ यता)मा पहिलो पटक आज लगातार दोस्रो दिन नेप्से बढेको छ । आज नेप्सेमा 'बुलिस ग्याप-अप'को ट्रेन्ड देखिएको छ । मैनबत्ती चित्रमा ‘ग्याप-अप’ भएको हरियो रङको मैनबत्तीको आकृति बनेको छ । यसले बजार बढ्ने सम्भावना बलियो बनाएको जानकार बताउँछन् ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स १.२७ प्रतिशत, फ्लोट इन्डेक्स १.३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ प्रतिशतले बढेको छ ।
बिहीवार २२७ कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।
यस दिन सबै समूहगत सूचक बढेका छन् । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ६.०९ प्रतिशत बढेको छ । यस्तै, बैंकिङको ०.९०, विकास बैंकको १.१०, वित्तको १.३०, होटल तथा पर्यटनको ०.४४, जलविद्युतको १.०९, लगानीको २.२०, जीवन बीमाको १.७१, उत्पादन र प्रशोधनको ०.९२, लघुवित्तको २.२२, म्युचुअल फण्डको ०.३७, निर्जीवन बीमाको ०.८५ र अन्यको सूचक १.७४ प्रतिशत बढेको छ ।
आज गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, सिर्जनशील लघुवित्तको ९.९ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.५ र अभियान लघुवित्तको शेयर मूल्य ७.६ प्रतिशत बढेको छ । यस्तै, कुमारी सबल योजनाको इकाई मूल्य सबैभन्दा धेरै १.८२ प्रतिशत बढेको छ ।