काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताको उत्साह कायम रहेको छ । गत बुधवारदेखि उकालो लागेको नेप्से परिसूचक आइतबार पनि १ दशमलव ११ प्रतिशत अर्थात २९ दशमलव ८२ अंक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २ हजार ७१८ दशमलव ९५ बिन्दुसम्म पुगेर २ हजार ६९३ दशमलव १२ विन्दुमा फकिएको हो । यस दिनको कारोबारमा नेप्से परिसूचक न्यूनतम २ हजार ६५७ दशमलव ८८ बिन्दुसम्म झरेको थियो ।
नेप्सेका अनुसार आइतवार २२२ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने २२ कम्पनीको धितोपत्र मूल्य घटेको छ । सर्वाधिक मूल्य बढ्नेमा जोशी हाइड्रोपावर रहेको छ भने सर्वाधिक मूल्य घट्नेमा प्रभु स्मार्ट फन्डको इकाई रहेको छ । प्रभु स्मार्ट फन्डको इकाई मूल्य ५ दशमलव ७९ प्रतिशत घटेर अन्तिम मूल्य १० रुपैयाँ ४२ पैसा कायम भएको हो ।
सर्वाधिक मूल्य बढेको जोशी हाइड्रोपावरको शेयर मूल्य भने ९ दशमलव ९४ प्रतिशत अर्थात ३५ रुपैयाँ ५४ पैसाले बढेर ३९३ रुपैयाँ २६ रुपैयाँ कायम भएको छ । लगानीकर्ताको उत्साह बढेका कारण आइतवारको कारोबारमालाई लिएर गरिएको मैनबत्ती विश्लेषणलाई हेर्दा लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनेको छ । यस्तो प्रकारको मैनबत्तीले लगानीकर्ताको उत्साह केही दिन कायम रहने र बजार अझै माथि जाने संकेत गर्दछ ।
ब्रोकरले पछिल्लो समय बजारमा दुई खालका लगानीकर्ता सक्रिय रहेको बताएका छन् । एक खालका लगानीकर्ता छोटो समयमै नाफा बुक गरिहाल्ने र अर्को खालका एभरेजिङ गर्दै दीर्घकालमा राम्रो नाफा कमाउने उद्देश्य राख्ने लगानीकर्ता रहेको ब्रोकरहरूको भनाई छ ।
आइतबार कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढीको ९७ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आइतबार ७ अर्ब ५५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ५५ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । कुल कारोबार रकममा सर्वाधिक हिस्सा हिमालयन रिइन्स्योरेन्सलेनै ओगटेको छ । लामो समयदेखि कुल कारोबारमा सर्वाधिक हिस्सा ओगट्दै आएको यस कम्पनीको आइतबार भने ६९ करोड १९ लाख रुपैयाँभन्दा बढीको ६ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।
आइतवारको कारोबारमा व्यापारिकको शून्य दशमलव २६ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यस दिन बैंकिङ र विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत, वित्तको २ दशमलव शून्य १ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ४१ प्रतिशत, जलविद्युतको १ दशमलव ५४ प्रतिशत, लगानीको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७८ प्रतिशत र अन्यको २ दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।
यस दिन परिसूचक बढेको आधारमा लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । यस दिन कुल बजार पूँजीकरण ४४ खर्ब ७१ अर्ब ९७ करोड ६९ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।