काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ६० प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७४२ दशमलव ८८ विन्दुमा पुगेको हो ।
बैंकहरूले कात्तिक महीनाका लागि ब्याजदर थप घटाउने निर्णय गरेका छन् । ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको जानकार बताउँछन् ।
कर्जाकै ब्याजदर एकल अंकमा आइसकेको छ । अहिले अधिकांश बैंकहरूले सामान्य निक्षेपमा करीब ३ प्रतिशत हाराहारीमा मात्र ब्याज दिएका छन् । मुद्दति निक्षेपको ब्याजदर नै ६ प्रतिशतको हाराहारीमा मात्र छ । यही कारण निक्षेपकर्ताहरू बैंकबाट पैसा झिकेर शेयर बजारतिर मोडिने जानकार बताउँछन् । यसले पनि शेयरको माग बढाउन सहयोग पुग्ने उनीहरुको भनाई छ ।
त्यस्तै लगानीका अन्य क्षेत्र अझै गतिशील हुन सकेका छैनन् । घरजग्गा लगायतका क्षेत्र पनि खासै गतिशील भएको छैन । यस्तो अवस्थामा शेयर बजारमै आम लगानीकर्ताको आकर्षण बढ्न सक्ने जानकारहरूको बुझाइ छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ७० प्रतिशत वृद्धि भएको छ ।
३२० धितोपत्रको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर ६५ हजार ८४५ पटकमा रू. ५ अर्ब ६६ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ३३ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९३६ पुगेको हो । त्यस्तै इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव २४ प्रतिशत बढेर रू. ९४५ पुगेको छ ।
अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८६४ दशमलव ९० मा झरेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ५४ प्रतिशत घटेर रू. ९७० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको १५ करोड ९ लाखभन्दा बढीको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४४५ दशमलव ५० कायम भएको छ । त्यस्तै शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. १५ करोड ४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ३ दशलमव ४४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै दोस्रोमा जलविद्युत् समूहको सूचक छ । यो समूहको सूचक २ दशमलव १३ प्रतिशत वृद्धि भएको छ ।