काठमाडौं । लगातार दुई कारोबार दिन घटेको नेप्से मंगलवार (आज) २ दशमलव ९५ अंक मात्रै बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३३ दशमलव ८७ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने सुस्त नै छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ९३ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ३४ करोडमा झरेको हो ।
बजार घटेर तल्लो विन्दुमा आएपछि आत्तिएर बेच्नेहरू घटेका छन् । सस्तो मूल्यमा विक्री गर्न खोज्नेहरू कम हुँदा कारोबार प्रभावित भएको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ ।
आज ३१८ धितोपत्रको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर ५३ हजार ९५७ पटक कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७५० पुगेको छ । त्यस्तै, जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशलमव ८५ प्रतिशत बढेर रू. ८७९ दशमलव ९० पुगेको छ ।
मंगलवार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनााम आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ९७० मा झरेको छ । त्यस्तै आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य ५ दशमलव ४८ प्रतिशत घटेर रू. ९ दशमलव ३१ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा जानकी फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड २४ लाख बराबरको भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको रू. १५ करोड ८ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये वित्त समूहको सूचक शून्य दशमलव ८७ प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक शून्य दशमलव ६५ प्रतिशत घटेको छ ।