काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १४ दशमलव ३३ अंक बढेर १ हजार ९८० दशमलव २७ विन्दुमा पुगेको हो ।
अघिल्लो कारोबार दिन रू. २ अर्ब ३६ करोड बराबरको कारोबार भएकोमा आइतवार भने रू. २ अर्ब ६८ करोडभन्दा बढीको भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८० प्रतिशत वृद्धि भएको छ ।
लामो समयदेखि लगातारजसो घटेको बजार आइतवार भने सकारात्मक देखियो । बजार खुलेको केही समय विक्रेता हाबी भएपनि अन्त्यमा भने खरीदकर्ता आकर्षित भएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन सकिएलगत्तै शेयर बजार सुधारका लागि पहल गर्ने आश्वासन दिएपछि नेप्से बढेको लगानीकर्ता बताउँछन् ।
यसो त लामो समयदेखि घटेको बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा आएको छ । यसकारण पनि खरीदकर्ता सकारात्मक भएको जानकारकाे भनाइ छ । शेयर बजारमा सुधारका लागि नीतिगत सुधार गर्नुपर्ने लगानीकर्ताकाे माग छ ।
आइतवार ३०८ धितोपत्रको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर ४८ हजार १८३ पटकमा रू. २ अर्ब ६८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६७० पुगेको हो । त्यसपछि प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य सर्वाधिक बढी ७ दशमलव ६२ प्रतिशत बढेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३५३ पुगेको छ ।
यस दिन सबैभन्दा बढी रिभर फल्स पावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ४ दशमलव ६३ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५० मा झरेको छ । त्यस्तै एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मूल्य ४ दशमलव १७ प्रतिशत घटेर रू. ८ दशमलव ०४ मा कायम भएको छ ।
आइतवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पोखरा फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १३ करोड ५ लाख बराबरको भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा मल्टीपर्पस फाइनान्सको रू. १० करोड ९९ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको सूचक शून्य दशमलव ३४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको सूचक २ दशमलव २३ प्रतिशत वृद्धि भएको छ ।