काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू. ३४ करोड १३ लाख नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. १४ करोड ३५ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले र वित्तीय खर्च बढेकाले नोक्सानीमा रहेको हो । कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ८१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ५६ करोड ५० लाख रहेकोमा चालू आवमा घटेर रू. १० करोड ७२ लाखमा झरेको हो । त्यस्तै कम्पनीको वित्तीय खर्च रू. २० करोड ६१ लाख रहेकोमा चालू आवमा बढेर रू. २१ करोड ९८ लाख पुगेको हो ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ५५ पैसा छ । चुक्ता पूँजी रू. ३ अर्ब ८९ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा शेयर प्रिमियममा रू. १० करोड २८ लाख सञ्चिति गरेको छ । कम्पनीको जगेडा कोष रू. ३१ करोड ५१ लाख ऋणात्मक छ ।