काठमाडौं । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ ।
मंगलवार धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था कार्यान्वयन नगरेको भन्दै नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको थियो ।
कम्पनीले मंसिर २५ गते गरेको गत आर्थिक वर्ष ०८०/८१ को लाभांशसम्बन्धी निर्णय पुस २ गते नेप्सेलाई जानकारी गराएकाले नेप्सेले कारोबार रोक्का गर्ने निर्णय गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ ।
कम्पनीले मंसिर २५ गते गरेको निर्णय पुस २ गते मात्र नेप्सेलाई जानकारी गराएकाले धितोपत्र मूल्यमा असर परेको टिप्पणी नेप्सेको छ । कम्पनीले पुस २ गते नै नेप्सेलाई आगामी दिनमा लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने प्रतिवद्धता पत्रमार्फत व्यक्त गरेको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरु पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेप्सेले पुस ३ गते कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेकाले पुस ४ गतेदेखि कम्पनीको धितोपत्र कारोबार सुचारु हुनेछ ।