काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफूले नियमन गर्ने बीमा कम्पनीहरूलाई तत्काल शेयर टुक्र्याएर किनबेच गर्न नदिने स्पष्ट पारेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर टुक्र्याउने सम्बन्धमा आवश्यक प्रक्रियाको विषयमा प्राधिकरणबाट जानकारी माग गरेको सन्दर्भमा प्राधिकरणले बजारको अवस्था हेरेर तत्काल शेयर टुक्र्याउने सुविधा दिने कुनै योजना नरहेको बताएको हो । प्राधिकरणका उपनिर्देशक एवं कानून विभाग प्रमुख साम्भराज लामिछानेले शेयर टुक्र्याएर मूल्य बढाउँदा वा घटाउँदा लगानीकर्तामा अन्योल हुने र खुला बजारमा त्यसले नकारात्मक प्रभाव पार्ने सम्भावना रहेकाले यस्तो सहमति दिने कुनै योजना नरहेको बताए । ‘कम्पनीका सन्दर्भमा शेयर टुक्र्याउँदा सबै लगानीकर्ताको पहुँच पुग्ने मान्यता जायज होला । तर, बजारमा अन्योल सृजना भई मूल्यमा चलखेल हुने सम्भावना रहेकाले हामी यस मामलामा उदार भएका छैनौं ।’
मङ्सिर २४ गते एनएलजी इन्स्योरेन्सले कम्पनी ऐनको दफा ५६ (२) को प्रावधान उद्धृत गरेर शेयर अंकित मूल्यभन्दा घटीबढी रुपैयाँमा बेच्ने बारेमा प्राधिकरणको धारणा मागेको थियो । कम्पनी ऐनको उक्त प्रावधानअनुसार कम्पनीको सबै वा केही शेयर पूँजीलाई अंकित मूल्यभन्दा केही बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर शेयर मूल्य हेरफेर गर्न सकिन्छ ।
एनएलजीले ‘उक्त व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट तोकिएको आवश्यक प्रक्रियाको सम्बन्धमा यस कम्पनीलाई जानकारी गराई सहयोग गरिदिन’ भन्दै प्राधिकरणलाई चिठी लेखेको थियो । प्राधिकरणले त्यस सम्बन्धमा हालसम्म राय नपठाएको समेत लामिछानेले जानकारी दिए । सामान्यतया सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ नै अंकित मूल्य हुने मान्यता रहँदै आएको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार नेपाल धितोपत्र बोर्डले साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रतिएकाइ १०० रुपैयाँ, डिबेन्चरको हकमा प्रतिएकाइ १ हजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकांकअन्तर्गतको धितोपत्रको हकमा प्रतिएकाइ १० रुपैयाँ मूल्य तोक्ने व्यवस्था गरेको छ । यीबाहेक अन्य धितोपत्रको अंकित मूल्य धितोपत्रको प्रकृति र संख्याको आधारमा बोर्डले समय समयमा तोकेबमोजिम हुने व्यवस्थासमेत बोर्डले गरेको छ ।
तर, विगतमा शेयर प्रतिकित्ता अंकित मूल्यभन्दा कममा पनि विक्री भएका छन् । । तीन वर्षअघि हाथवे इन्भेस्टमेन्ट नेपालले प्रतिकित्ता ५० रुपैयाँमा प्रारम्भिक सार्वजनिक निष्कासन गरेको थियो । सोल्टी होटेलले प्रतिकित्ता प्रतिकित्ता १० रुपैयाँमा शेयर जारी गरेको इतिहास पनि छ । तर, शेयर विभाजन गर्दा कुल पूँजीमा कुनै परिवर्तन नआउने हुँदा यसलाई प्राधिकरणले प्राथमिकतामा नराखेको लामिछानेको भनाइ छ । एनएलजीले अहिले शेयर विभाजनसम्बन्धी नीतिबारे प्राधिकरणसँग धारणा मागे पनि तत्काल शेयर टुक्र्याउने कुनै योजना नगरहेको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले कानूनी प्रावधान बुझ्नका लागि मात्र पत्राचार गरेको बताए । ‘टुक्र्याउन मिल्ने रहेछ भने प्रक्रिया के रहेछ भनेर बुझ्न खोजेको हो,’ उनले भने, ‘अन्य कम्पनीहरूले पनि यसबारे प्रक्रिया अघि बढाएको सुन्नमा आएकाले बुझ्न मात्र खोजेको हो ।’ विगतमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर टुक्र्याउने प्रस्ताव गरेकोमा खुला बजारमा पर्ने असरलाई ध्यानमा राखी प्राधिकरणले स्वीकृति दिएको थिएन । उक्त कम्पनीको शेयर मूल्य उच्च हुँदा सर्वसाधारणलाई किन्न गाह्रो भएको तर्क गर्दै शेयर टुक्र्याउने प्रस्ताव गरिएको थियो । अर्कोतर्फ एनएलजी इन्स्योरेन्सले अहिले पूँजी बढाउन हकप्रद शेयर निष्कासन गरिरहेको छ ।
कम्पनीले मङ्सिर ११ देखि पुस १ गतेसम्मका लागि निष्कासनमा ल्याएको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयरमा तोकिएको म्यादभित्र मागबमोजिम आवेदन नपरेपछि १५ दिन म्याद थप गरी पुस १६ गतेसम्म कायम गरेको छ ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार एनएलजी इन्स्योरेन्सले निष्कासन गरेको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद शेयरमध्ये पुस १ गते साँझ ५ बजेसम्म २१ लाख ७७ हजार ७८२ कित्ताका लागि आवेदन परेको छ ।
एनएलजी इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँ कायम हुनेछ ।
बोर्डले तोकेको धितोपत्रको मूल्य कति छ ?
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा धितोपत्रको मूल्य तोकेको छ । बोर्डले साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रतिएकाइ १०० रूपैयाँ, डिबेन्चरको हकमा प्रतिएकाइ एक हजार रूपैयाँ र सामूहिक लगानी योजना वा एकांकअन्तर्गतको धितोपत्रको हकमा प्रतिएकाइ १० रूपैयाँ तोकेको हो । यीबाहेक अन्य धितोपत्रको अंकित मूल्य धितोपत्रको प्रकृति र संख्याको आधारमा बोर्डले समय समयमा तोकेबमोजिम हुनेछ व्यवस्थासमेत बोर्डले गरेको छ ।