काठमाडौं । गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्ष १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
गत वर्ष १० प्रतिशत बोनस शेयर र करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र करसमेत २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।