काठमाडौं । २०८१ सालको अन्तिम महीना चैतमा मात्र धितोपत्र दोस्रो बजारमा १२ करोड ९२ लाखभन्दा बढी कित्ता धितोपत्र थपिएको छ ।
नेप्सेले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा दुई कम्पनीको आईपीओ, एक कम्पनीको एफपीओ, तीन कम्पनीको हकप्रद शेयर र २३ कम्पनीको बोनस शेयर गरी उल्लिखित कित्ता धितोपत्र दोस्रो बजारमा थपिएको हो ।
२०८१ सालमा दोस्रो बजारमा नयाँ तीन कम्पनी मात्र आईपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएकोमा चैत महीनामा दुई कम्पनी रहेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स चैत महीनामा दोस्रो बजारमा सूचीकृत भएका हुन् । यीबाहेक थप सार्वजनिक निष्कासन गरी स्वरोजगार लघुवित्तको १ लाख ९५ हजार ७७३ कित्ता शेयर दोस्रो बजारमा थपिएको हो ।
चैतमा वलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद शेयर समेत दोस्रो बजारमा थपिएको छ ।
चैतमा धेरैजसो कम्पनीहरूको बोनस शेयर सूचीकृत भएको देखिन्छ । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरेसँगै आईपीओ, एफपीओ, हकप्रद, ऋणपत्र र म्युचुअल फण्डको धितोपत्र दोस्रो बजारमा प्रवेश भने पछिल्लो समय कम भएको छ ।
चैतमा सूचीकृत भएका धितोपत्रहरू कारोबारयोग्य भइसकेका छन् भने सम्बन्धित शेयरधनीहरूको खातामा धितोपत्र जम्मा गर्ने काम समेत पूरा भइसकेको जानकारी कम्पनीहरूले गराएका छन् ।