काठमाडौं । धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक बढ्ने क्रमले बुधवार पनि निरन्तरता पाएको छ । मंगलवार १ प्रतिशतभन्दा बढीले वृद्धि भएर २ हजार ६८९ दशमलव २२ विन्दुमा बन्द भएको नेप्से बुधवार भने शून्य दशमलव २६ प्रतिशत बढेर २ हजार ६९६ दशमलव २३ विन्दुमा बन्द भएको हो । मंगलवार २५ दशमलव १४ अंकले बढेको बजार बुधवार ७ दशमलव शून्य १ अंक बढेको हो ।
यस दिन नेप्से २ हजार ७०४ दशमलव ९७ विन्दुसम्म पुगेको थियो भने २ हजार ६८५ दशमलव ३६ विन्दुसम्म झरेको थियो । मंगलवार नेप्से २ हजार ४०७ दशमलव ५८ विन्दुसम्म पुगेको थियो ।
बढेको बजारमा बुधवार १४७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ९७ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन २ कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
यो दिन राधी विद्युत कम्पनीको शेयर मूल्य पनि सर्किट लेभलमै ९ दशमलव ९७ प्रतिशत बढेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने सर्वाधिक ५ दशमलव ५५ प्रतिशत घटेको छ । आजको शेयर कारोबारका आधारमा बनेको मैनबत्ति चित्रमा ‘ह्यामर’ आकृति बनेको छ । यसले आगामी दिनमा प्रोफिट बुक भई बजार घट्ने सम्भावनाको संकेत गर्ने जानकार बताउँछन् ।
यस दिन कारोबार रकम भने अघिल्लो दिनभन्दा कम भएको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा बुधवार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।
कुल कारोबार रकममा यो दिन ङादी ग्रुप पावरको सर्वाधिक हिस्सा रहेको छ । यस दिन ङादी ग्रुप पावरको ५९ करोड ४१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक शेयर कारोबार रकम रहेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता २० रुपैयाँ २३ पैसाले बढेर अन्तिम मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ ६० पैसा कायम भएको छ ।