काठमाडौं । चैत महिनामा धितोपत्र दोस्रो बजारमा भएको कुल कारोबारमध्ये हिमालयन रिइन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार चैत महिनामा १ खर्ब ५१ करोड २३ लाख रुपैयाँभन्दा बढीको २० करोड १२ लाख ३६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । नेप्सेले सार्वजनिक गरेको चैत महिनामा सर्वाधिक कारोबार गर्ने १० कम्पनीको सूचीमा पहिलो नम्बरमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।
यस कम्पनीको ७ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । पुनर्बीमा क्षेत्रको अर्को कम्पनी नेपाल पुनर्बीमा कम्पनी पनि चैत महिनामा सर्वाधिक रकमको कारोबार गर्ने तेस्रो नम्बरको कम्पनीको रुपमा रहेको छ । दोस्रो नम्बरमा भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट रहेको छ । एनआरएन इन्फ्रास्टक्चरको ५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । चौथो नम्बरमा सिईडिबी होल्डिङ्ग्सको ३ अर्ब ६६ करोड रुपैैयाँभन्दा बढी, पाँचौ नम्बरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
चैतमा छैठौं नम्बरमा युनाइटेड मोदीको, सातौ नम्बरमा नारायणी डेभलपमेन्ट बैंकको, आठौं नम्बरमा राधी विद्युतको, नवौं नम्बरमा हिमालयन पावरको र दशौं नम्बरमा घलेम्दी हाइड्रोपावरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार युनाइटेड मोदीको २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको , नारायणी डेभलपमेन्ट बैंकको २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको , राधी विद्युतको २ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको , हिमालयन पावरको २ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको र घलेम्दी हाइड्रोको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।