काठमाडौं । भिल्ला रिसोर्ट बनाएर बेच्ने र सोही भिल्लालाई एक पाँचतारे होटेलले भाडामा लिएर चलाउने मोडलमा भक्तपुरको घाम्पेडाँडामा पाँचतारे होटेल बन्न लागेको छ । सोमवार नयाँ वर्ष २०८२ को पहिलो दिन प्रस्तावित पाँचतारे होटेल र भिल्लासहित अन्य पूर्वाधार निर्माण गर्न उक्त ठाउँमा भूमिपूजा भएको छ ।
यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रूप (आईईजी) ले एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया) सँगको संयुक्त लगानीमा बन्न लागेको हो ।
आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरिरहेका छन् भने एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया) को स्वामित्व गैरआवासीय नेपाली शेष घले र जमुना घलेको छ । दुईओटा समूहको ५०/५० प्रतिशत लगानीमा यो परियोजना शुरू गर्न लागिएको हो । संयुक्त उपक्रम स्वनिगः रिसोर्ट प्रालिले परियोजनाको काम अघि बढाएको हो ।
यो परियोजनामा ६० ओटा भिल्ला रिसोर्ट र एउटा अन्तरराष्ट्रिय ब्रान्डको पाँचतारे होटेल रहनेछ । भिल्लाहरू टाइम–शेयर मोडलमा सञ्चालन गरिने स्वनिगः प्रालिले बताएको छ । ‘यसको अर्थ स्वनिगः रिसोर्ट प्रालिले भिल्ला रिसोर्टहरू निर्माण गरेर उच्च कमाइ भएका मानिसहरूलाई विक्री गर्नेछ,’ नेपाली लगानीकर्ता शाक्यले भने ।
‘तर, भिल्लाको नयाँ मालिकले उक्त भिल्ला फेरि वर्षको ११ महीनासँगै बन्ने पाँचतारे होटेललाई पनि भाडा लिएर प्रयोग गर्न दिनेछ । वर्षको १ महीना भने भिल्लाका मालिकले परिवारसहित त्यसको स्वउपयोग गर्न सक्नेछ । र, भिल्लाका मालिकलाई आवश्यक उच्च गुणस्तरको सेवा पनि होटेलले प्रदान गर्नेछ ।’
उनका अनुसार यस्तो भिल्लाको मूल्य कति पर्ने भन्ने निश्चित भइसकेको छैन । ‘परियोजनाको डिजाइन पूर्ण भइसकेको छैन त्यसैले मूल्य अहिल्यै भन्न सकिँदैन,’ शाक्यले आर्थिक अभियानसँग भने । उनको अनुसार यो मोडलमा होटेल निर्माण गर्न लागिएको नेपालमा पहिलोपल्ट हुन सक्छ । ‘अरूकसैले यो मोडलमा आतिथ्य सेवा विस्तार गरेको मेरो जानकारीमा छैन,’ उनले भने ।
उक्त होटेल तथा भिल्ला रिसोर्टको पूर्वाधार निर्माणको काम अबको वर्षा सकिएलगत्तै शुरू गरिने शाक्यले जानकारी दिए । लुकमा आतिथ्य सेवाक्षेत्रमा होटेल तथा रिसोर्टहरू ठूलो संख्यामा थपिँदै गएको बेला यी लगानीकर्ताले भने फरक अवधारणाबाट होटेल तथा रिसोर्ट विकास गर्न लागेका हुन् ।
प्रस्तावित ६० ओटा भिल्लामा निजी (प्राइभेट) स्वीमिङ पुल, सनबाथ हुनेछ । सुस्वास्थ्य (वेलनेस), खेल, आध्यात्मिक पर्यटनजस्ता विभिन्न पर्यटकीय गतिविधि त्यहीँ गर्न सकिनेछ । आतिथ्य उद्योग प्रतिस्पर्धी बजार भइसकेकाले बजारीकरणका लागि विशेष रणनीति अपनाइएको शाक्यले बताए ।
‘भिल्लामा खरीदकर्तालाई वर्षभरि बसाउँदैनौं, खरीदकर्ताले ११ महीना भिल्ला भाडामा दिएर आम्दानी गर्न सक्छन् । त्यो भिल्लाको प्रयोग तथा व्यवस्थापन भने होटेलले गर्नेछ ।’ बढी खर्च गर्ने पर्यटकलाई लक्षित गर्न व्यवसायको रणनीति यस्तो बनाइएको उनको भनाइ छ ।
परियोजना सन् २०२७ को नोभेम्बरसम्म सक्ने कम्पनीको लक्ष्य छ । यी पूर्वाधार बनाउन ५ अर्बदेखि ७ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको शाक्यले बताए । उक्त होटेल परियोजना भक्तपुरको घाम्पेडाँडाको ८६ रोपनीमा बन्नेछ । होटेलमा १५ सय क्षमताको एम्पिथिएटर पनि बन्ने भएको छ ।
स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । ‘स्वनिगः उक्त परियोजनाका लागि उपयुक्त नाम हो, जसले यी शहरमा सहअस्तित्वमा रहेको प्रदर्शन (पर्पmर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहासजस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
यो सम्पत्ति माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिशन), इभेन्ट, अन्तरराष्ट्रिय सेमिनार, डेस्टिनेशन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङजस्ता खेलकुद गतिविधिमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुनेछ । यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका लागि विलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रूपमा विकास गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । आईईजीको प्रतिनिधित्व गर्ने शाक्य र श्रेष्ठ उनीहरू समिट होटेल, एयरपोर्ट होटेल र निर्माणाधीन ओएसिस होटेलमा पनि लगानीकर्ताका रूपमा रहेका छन् ।
एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रूप होल्डिङ्समार्फत यसअघि नै काठमाडौंको मुटु कान्तिपथमा एउटा पाँचतारे होटेल निर्माण गरिसकेको छ । उक्त विलासी पाँचतारे होटेल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ ।
एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरूको सक्रियतापूर्वक अन्वेषण गरिरहेको विज्ञप्तिमा जनाइएको छ । ऊर्जाक्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तरराष्ट्रिय व्यावसायिक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरूमा जोडिएका छन् ।