काठमाडौं । अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात’ सञ्चालन गरेको बौद्धस्थित तारागाउँ रिजेन्सी होटेल्समा सरकारको शेयर स्वामित्व स्वाट्टै घटेका बेला त्यसमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले हाल बहुमत शेयर स्वामित्व कायम गरेका छन् ।
सरकारले गठन गरेको एक अध्ययन समितिको प्रतिवेदनले शुरूमा १९ दशमलव ७० प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको शेयर अहिले बढेर ५४ दशमलव ७३ प्रतिशतसम्म पुगेको छ । तारागाउँ रिजेन्सी होटेल्सका लगानीकर्तामा बैंक तथा वित्तीय संस्था पनि छन् ।
तर, ऋण पुनर्तालिकीकरणको व्यवस्थाअनुसार २०६४ वैशाख १० गते जारी गरिएको परिवत्र्य अग्राधिकार शेयरलाई २०७१ असार ३० गते साधारण शेयरमा परिणत गराई बैंक वित्तीय संस्थाको शेयर प्रतिशत थप बढेको हो । यससँगै साधारण र संस्थापक शेयरधनीको शेयर प्रतिशत थप घटेको छ ।
तारागाउँ रिजेन्सी होटेल्समा सरकारी संस्था तारागाउँ विकास समिति, निजी लगानीकर्ता राधेश्याम सराफ र रामलाल श्रेष्ठको संयुक्त साझेदारी, सर्वसाधारण र बैंक तथा वित्तीय संस्था शेयरधनी छन् । त्यसमध्ये अन्य तीन शेयरधनीको अंश घट्दा बैंक तथा वित्तीय संस्थाको अंश बढेको पूर्वकार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले देखाएको छ ।
‘तारागाउँ विकास समितिसँग सम्बद्ध समस्या/विवादका विषयहरूको अध्ययन/छानबिनसम्बन्धी अन्तरनिकायगत अध्ययन समितिको प्रतिवेदन, २०८१’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलवार सार्वजनिक गरेको छ । मन्त्रालयले गत भदौमा यो समिति गठन गरेको थियो ।
तारागाउँ रिजेन्सीमा जग्गाको मूल्यांकन उपयुक्त नभएको, लिजको पुनर्मूल्यांकन नभएको जस्ता विवाद विगत वर्षहरूदेखि नै हुँदै आएका छन् । उक्त होटेलमा शुरूमा शेयर पूँजी ७५ करोड रुपैयाँ थियो । त्यसमा तारागाउँ विकास समितिले १७ करोड रुपैयाँ शेयर लगानी गरेअनुसार उसको शेयर अंश २२ दशमलव ६७ प्रतिशत थियो । तर, विभिन्न समयमा गरिएको पुनः संरचनापछि अहिले होटेलको शेयर पूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
उक्त प्रतिवेदनअनुसार समितिको पछिल्लो शेयर स्वामित्व ९ दशमलव शून्य १ प्रतिशत नै रहेको छ । तर, बैंक तिथा वित्तीय संस्थाको शेयर स्वामित्वको अनुपात भने बढेको छ । २०६३ वैशाख १३ गतेको शेयरधनी संरचनाअनुसार ५ः३ को अनुपातमा हकप्रद शेयर जारी गर्दा जम्मा पूँजी ७४ करोडबाट बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको थियो । त्यसबेला बैंक, वित्तीय संस्थाको शेयर २१ दशमलव ५५ प्रतिशत पुगेको थियो ।
यस्तै २०६४ वैशाख १० गते ५८ दशमलव ६० करोड ऋणलाई साधारण शेयर र ब्याज रकममध्येको २१ करोड २० लाखलाई परिवत्र्य अग्राधिकार शेयरमा परिर्वतन गराई बैंक, वित्तीय संस्थाको शेयर प्रतिशत बढाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसबेला सर्वसाधारण शेयरधनीहरूको शेयर प्रतिशत घटाइएको छ । २०६४ मा गरिएको उक्त परिवर्तनपछि बैंक, वित्तीय संस्थाको शेयर प्रतिशत ४९ पुगेको थियो ।
उक्त अग्राधिकार शेयरलाई २०७१ असार ३० गते साधारण शेयरमा परिवर्तन गराई बैंक, वित्तीय संस्थाको शेयर प्रतिशत थप बढाइएको छ । त्यसबेला भने संस्थापक र साधारण शेयरधनीको शेयर प्रतिशत थप घटाइएको थियो ।
त्यसबेला परिवर्तन गरिएको अंशअनुसार बैंक, वित्तीय संस्थाको शेयर प्रतिशत ५४ दशमलव ७३ पुगेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रतिवेदनले होटेलमा भएको शेयर अंशभन्दा पनि शेयर पूँजी बढाउँदा समितिको शेयर प्रतिशत कम हुन पुगेको उल्लेख गरेको छ । अर्कोतर्फ, विगतमा कम्पनीले अग्राधिकार शेयर जारी गर्दा समितिले उक्त शेयर खरीद नगरेकाले पनि यसको शेयर स्वामित्व घट्न गएको प्रतिवेदनमा उल्लेख छ ।