काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते ३२औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।
कम्पनीले काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र विभिन्न संस्था तथा व्यक्तिलाई गरेको आर्थिक सहयोग अनुमोदनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
तल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र लोअर मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीलाई र चिनो खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरलाई हस्तान्तरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।