काठमाडौं । गत मंगलवार २ दशमलव ९५ अंक बढेको बजार बुधवार (आज) भने ५ दशमलव ६० अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६२८ दशमलव २६ विन्दुमा कायम भएको हो ।
नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ३४ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब २७ करोडमा झरेको हो ।
बजार निरन्तर घट्दै जाँदा लगानीकर्ताको सक्रियता कम हुन थालेको छ । जसका कारण कारोबार रकम दिनहुँ घट्दो छ । यसो त लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरूको लाभांशदर अघिल्लो वर्षको तुलनामा घटेको छ । जसकारण पनि लगानीकर्ता सकारात्मक नभएको देखियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २८ प्रतिशत घटेको छ ।
आज ३१४ धितोपत्रको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर ४९ हजार ४२१ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । उपकार लघुवित्तको शेयर मूल्य रू. ३ हजार ४१८ दशमलव ८० र सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ३ हजार २५ पुगेको छ ।
बुधवार सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ६७६ कायम भएको छ । त्यस्तै दोल्ती पावर कम्पनीको शेयर मूल्य ५ दशलमव ३३ प्रतिशत घटेर रू. ६९३ मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १५ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.९१७ दशमलव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रिभर फल्स पावर छ । कम्पनीको रू. १२ करोड ६ लाख बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०७ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ४२ प्रतिशत घटेको छ ।