काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ८ दशमलव २६ अंक बढेर १ हजार ९७४ दशमलव ५० विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । बिहीवार रू. ३ अर्ब १२ करोड बराबरको कारोबार भएकोमा आइतवार रू. ३ अर्ब १५ करोडभन्दा बढीको कारोबार भएको छ ।
बीमा कम्पनी र लघुवित्त कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण सकारात्मक आएकाले आइतवार शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । यसअघि बैंकको रिपोर्टले लगानीकर्ता निराश भएका थिए । लामो समयदेखि घटेको बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ । यस कारण खरीदकर्ता आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ०६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०४ प्रतिशत वृद्धि भएको छ । ३११ धितोपत्रको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार ७६४ पटकमा रू. ३ अर्ब १५ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३७२ दशमलव ८० पुगेको छ ।
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा उल्लेख्य वृद्धि भएको छ । सोही कारण पनि कम्पनीको शेयर लगानीकर्ताको रोजाईमा परेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था छ । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ५२ प्रतिशत बढेर रू. २ हजार १६३ दशमलव ४० पुगेको छ ।
आइतवार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ४४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २ सयमा झरेको हो । शेयर मूल्य सबैभन्दा बढी घट्ने सूचीमा दोस्रोमा दोल्ती पावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ५९ प्रतिशत घटेर रू. ४२६ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्री सांग्रिला डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको रू. १० करोड ५० लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३१८ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको पोखरा फाइनान्सको रू. ८ करोड ९ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २ दशलमव ४० प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूहको सूचक २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ ।