काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ ओटा जलविद्युत कम्पनीले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
लाभांशसम्बन्धी निर्णय गरेका ६३ कम्पनीमध्ये माउन्टेन इनर्जी नेपाल, चिलिमे हाइड्रोपावर, कालिका पावर, रुरु जलविद्युत कम्पनी, भगवती हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, माण्डु हाइड्रोपावर, युनिभर्सल पावर, नेपाल हाइड्रो डेभलोपर, सिक्लेस हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, राधी विद्युत कम्पनी, बुटवल पावर कम्पनी, मन्दाकिनी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावर कम्पनीले मात्रै गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । यी कम्पनीमध्ये केहीले साधारण सभाबाट लाभांश पारित गराइसकेका छन् भने केहीले पारित गराउन बाँकी छ ।
नेप्सेमा सूचीकृत ९१ जलविद्युत कम्पनीमध्ये ६३ ओटाले मात्रै साधारण सभा आयोजना गरेका छन् । यीमध्ये ४८ ओटाले लाभांशबिना नै साधारण सभा आयोजना गरेका छन् । २८ कम्पनीले भने लाभांश प्रस्तावसम्बन्धी निर्णय गर्न बाँकी छ ।
लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी माउन्टेन इनर्जी नेपालले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले १५ प्रतिशत लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त सूचीमा दोस्रोमा रहेको चिलिमे हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।
त्यस्तै सानिमा माई हाइड्रोपावरले कात्तिक २३ गतेको वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।
माण्डु हाइड्रोपावरले १० प्रतिशत नगद लाभांश साधारण सभाबाट पारित गरिसकेको छ ।
१५ कम्पनीमध्ये सुपर मादी हाइड्रोपावरले सबैभन्दा कम लाभांश घोषणा गरेको छ । कम्पनीले २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुन कम्पनीको कति ?
स्रोत : कम्पनीको सूचनाबाट ।
लाभांश नदिए पनि यस समूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढी नै हुन्छ ।
अरु सेक्टरका कम्पनीजस्तो जलविद्युत कम्पनीमा धेरै पूँजी हुँदैन । यस्तै, नयाँ जलविद्युत कम्पनीले २० देखि ३० प्रतिशत शेयर निष्कासन गरेका हुन्छन्, अरु संस्थापकको होल्ड भएको हुन्छ । यो कारणले जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको जानकार बताउँछन् ।
पछिल्लो समय लगानीकर्ता दीर्घकालीन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका हुन्छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । सोही कारण पनि लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।