काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख ३१ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । साथै बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।