काठमाडौं । नलेज अर्थतन्त्रमा जोड दिएर सेवा निर्यातमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
काठमाडौंमा शुक्रवार (आज) आयोजित आईआईडीएस नीति सम्मेलन– २०२४ मा सरोकारवालाले उक्त कुरामा जोड दिएका हुन् । यसबाट भूपरिवेष्ठित राष्ट्रको रूपमा नेपालको सीमितता पार गरेर अघि बढ्न सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
सूचना प्रविधि (आईटी), स्वास्थ्य सेवालगात नलेज अर्थतन्त्रका क्षेत्रहरू हुन् ।
कार्यक्रममा सांसद डा. स्वर्णिम वाग्लेले नेपालका योजनाहरू असफल हुनुको कारण प्राथमिकता छनोट, संस्थागत तयारी, लगानीको स्रोत व्यवस्थापन आदिमा चुक्नु रहेको बताए।
मुलुकका युवापंक्ति गाउँ र देश छोडेर हिंड्न तयार भइरहेका बेला अर्थतन्त्र र शासकीय प्रबन्धमा आमूल परिवर्तन र त्यसका लागि नीतिगत रिफर्मको आवश्यकतामा उनले जोड दिए ।
‘नेपाल भिजन २१००’ भन्ने नारा राष्ट्रिय योजना आयोगले विकास गरेको १५ वटा आवधिक योजनाको आलोचनात्मक प्रतिक्रिया हो, जसले २०४३/४४ सम्ममा हासिल गर्ने गरी मुलुकका विभिन्न सामाजिक, आर्थिक र आर्थिक सूचकहरूको लागि विशिष्ट लक्ष्यहरू प्रस्ताव गर्छ ।
कृषिक्षेत्रको कुल गार्हस्थ्य उत्पादनको हिस्सा २७ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा झार्ने, उद्योगको हिस्सा १५.२ प्रतिशतबाट ३० प्रतिशतमा झार्ने र सेवा क्षेत्रको हिस्सा ५७.८ प्रतिशतबाट बढाएर ६१ प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ ।