काठमाडौं । समस्याग्रस्त ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई जग्गा दिएर बचत रकम राफसाफ गर्ने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ओरेन्टलका अध्यक्ष सुधीर बस्नेतले भक्तपुरको गुण्डुमा रहेको आफ्नो २७६ रोपनी जग्गा ६३२ बचतकर्तालाई दिने प्रस्ताव गरेका थिए । त्यसपछि समितिले उनलाई जबरजस्ती जग्गा नभिडाउने र लिन चाहनेका लागि मात्र दिने शर्तमा काम गर्न स्वीकृत दिएको हो । समितिका सदस्य उद्धवप्रसाद तिमल्सेनाले हाल बस्नेतले ३२ रोपनी जग्गा प्लटिङ गरिरहेको र त्यसबाट २०८ जना बचतकर्ताको ५० करोड ४८ लाख रुपैयाँ बराबरको निक्षेप फरफारक हुने बताए । ‘सुधीरकै प्रस्तावअनुसार बचतको सट्टामा जग्गा लिन चाहने बचतकर्ताका लागि सहजीकरण गरिरहेका छौं,’ उनले भने ।
बस्नेतले गुण्डुको जग्गा ६३२ जना बचतकर्तालाई दिने प्रस्ताव गरेका थिए । यसअघि पनि ओरेन्टलले ८२ जना बचतकर्तालाई गुण्डुको जग्गा दिएर हिसाब मिलान गरेको आधारमा समितिले यसपटक पनि बचतसँग जग्गा मिलान गर्न स्वीकृति दिएको हो । अहिले करीब ३०० जना बचतकर्ता जग्गा लिन इच्छुक देखिएको र त्यसका लागि जग्गाको कित्ताकाट, प्लानिङलगायत काम गर्न सहजीकरण गरिएको समितिले बताएको छ ।
बस्नेतले भने यस विषयमा बोल्न चाहेनन् । समिति सदस्य तिमल्सेनाका अनुसार गुण्डुको जग्गाबाट सहकारीका बचतकर्ताको १ अर्ब ७२ करोड रुपैयाँ व्यवस्थापन हुने देखिएको छ । त्यसपछि रोक्का रहेको परासी र हेटौंडाको जग्गा लिलामीबाट बाँकी बचत फरफारक गर्ने समितिको योजना छ । सरकारले २०७९ असोज ७ गते ओरेन्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरेको हो । पहिलोपटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरे पनि सम्पत्ति लिलामीको प्रक्रिया अघि बढेपछि अध्यक्ष बस्नेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चले पहिले नै समस्यामा रहेको सहकारीलाई पछि कानून ल्याएर समस्याग्रस्त घोषणा गरेको भन्दै ओरेन्टलको पक्षमा फैसला गरेपछि संस्थाको फाइल पुन: सहकारी विभागलाई हस्तान्तरण गरिएको थियो ।
त्यसपछि विभागले संस्थालाई स्पष्टीकरण सोध्नुका साथै दायित्व फरफारक गर्ने योजना पेश गर्न निर्देशन दिएको थियो । तर, विभागले दिएको समयसीमाभित्र संस्थाले दायित्व भुक्तानीको कार्यतालिका पेश नगरेको र संस्थाको स्पष्टीकरणसमेत सन्तोषजनक नभएको भन्दै रजिस्ट्रारको सिफारिशमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरी पुन: समितिमा पठाएको हो ।
समितिको तथ्यांकअनुसार ओरेन्टलका ४ हजार २४९ सदस्यले ३ अर्ब १९ करोड ५० लाख रुपैयाँ निक्षेप दाबी गरेका छन् । त्यसमध्ये सम्पत्तिबाट २ करोड र २२ करोड फिर्ता गरी २४ करोड रुपैयाँ फरफारक भएको छ । १ लाख रुपैयाँभन्दा कम रकम दाबी गर्ने २७५ जनाको भने शतप्रतिशत भुक्तानी भइसकेको समितिले बताएको छ ।
ओरेन्टलले काठमाडौं, भक्तपुर र ललितपुरका साथै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, विराटनगर, इटहरीमा गरी नौओटा शाखा कार्यालय स्थापना गरी बचत संकलन गरेको थियो । सर्वसाधारणबाट संकलन गरेको बचत अध्यक्ष बस्नेतले विभिन्न कम्पनी र व्यक्तिका नाममा घरजग्गा खरीद र प्लटिङमा लगानी गरेका थिए । घरजग्गा कारोबारमा शिथिलता आएसँगै ओरेन्टल बचत फिर्ता गर्न नसक्ने गरी समस्यामा परेको हो ।
सहकारी ऐन, २०७४ को दफा १०४ मा कुनै पनि सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्था आएको, गम्भीर आर्थिक संकटमा परेको, अनियमितता भएको पाइएमा रजिस्ट्रारको सिफारिशमा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सक्ने प्रावधान छ । उक्त व्यवस्थाअनुसार समस्याग्रस्त घोषणा गरेपछि व्यवस्थापन समितिमार्फत त्यसको सम्पत्ति र दायित्व छानबिन गर्ने व्यवस्था छ ।