काठमाडौं । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न नेपाली औद्योगिक घराना चौधरी समूह र भारतीय कम्पनी अडानी समूहले इच्छा देखाएको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त परियोजना सार्वजनिक–निजी साझेदारीअनुसार विकास गर्न ५१ प्रतिशत शेयर स्वामित्व लिन पहिलो चरणमा नेपाली नागरिक र नेपाली नागरिक प्रवद्र्धक रहेको कम्पनी वा संगठित संस्थासँग प्रस्ताव माग गरिएको छ । कम्पनीले ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना निर्माणका लागि पनि त्यस्तै आशयपत्र मागेको छ । पहिलो चरणको प्रस्ताव दुईपटक आह्वान गर्दा पनि योग्य प्रस्ताव छनोट हुन नसकेमा विदेशी लगानीकर्ता र विदेशी लगानीकर्ता भएको संयुक्त उपक्रमबाट दोस्रो चरणको प्रस्ताव आह्वान गर्नुपर्ने आयोजना निर्माणको लगानी साझेदारीसम्बन्धी कार्यविधिमा उल्लेख छ ।
उक्त प्रस्ताव आह्वान भएकै बेला एक स्वदेशी र एक विदेशी व्यावसायिक समूहले मुगु कर्णाली परियोजना निर्माणमा चासो देखाएका हुन् । ‘हामीले आन्तरिक स्रोतबाटै मुगु कर्णाली निर्माण गर्न लगानी आह्वान गर्दै सूचना जारी गरेपछि चौधरी समूह र अडानी समूहको टीम नै यहाँ आएका थिए,’ विद्युत् उत्पादन कम्पनी लिमिटेडको एक उच्च स्रोतले आर्थिक अभियानसँग भन्यो, ‘यीबाहेक अन्य धेरै व्यापारिक समूह यो परियोजनामा लगानी गर्ने इच्छा राखेर हामीलाई भेट्न आउने गरेका छन् । तर, हामीले कार्यविधि पढेर सोहीअनुसार प्रक्रिया पूरा गरी आउन भनेका छौं ।’
कम्पनीले गत मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गर्दै १५ दिनको म्याद दिएर मुगु कर्णाली र किमाथांका अरुणका लागि प्रस्ताव आह्वान गरेको थियो । पुस ६ गते अर्को सूचना जारी गरी १५ दिन अर्थात् पुस २३ सम्म म्याद थप गरिएको छ । सम्भाव्यता अध्ययनको काम भइरहेको मुगु कर्णाली परियोजना निर्माण गर्न ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । मुलुकको गेम चेन्जर परियोजनाको रूपमा पनि हेरिएको यो आयोजनाले वार्षिक ६ हजार २९१ दशमलव ८ गिगावाट आवर विद्युत् उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत् आयोजना नदीको सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध नदीको सतहबाट करीब २८३ मीटर उचाइको हुनेछ । आयोजना कर्णालीका कालीकोट, बाजुरा, मुगु, हुम्ला र जुम्ला गरी ५ जिल्लामा निर्माण हुनेछ ।