प्रशस्त सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन । यसो हुनुका विविध कारणमध्ये एउटा पर्यटन क्षेत्रले गतिले नेतृत्व र दृष्टिकोण नपाउनु पनि हो । पर्यटन मन्त्रालय निकै चुनौतीपूर्ण भए पनि प्रतिबद्धता र केही गर्छु भन्ने अठोट भएका मन्त्री खासै पाइएको छैन भन्दा हुन्छ । योगेश भट्टराई र रवीन्द्र अधिकारीले केही खाका तयार पारे पनि तिनले केही परिणाम दिन सकेनन् । त्यसपछि सुदन किरातीले चर्चामा आउने गरी धेरै कुरा गरे र केही आशलाग्दो थालनी गरे तर उनले पनि परिणाम केही दिन सकेनन् ।
यसो हुनुको कारण नेतृत्व चाँडोचाँडो परिवर्तन हुनु पनि हो । अन्य पर्यटनमन्त्रीको त खासै चर्चा पनि भएन । यस्तोमा अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धन सरकार गठन भएको छ । यसले पनि जनता र व्यवसायीमा आशा सञ्चार गर्न सकेन भने नेपालमा एउटा ठूलो रिक्तता उत्पन्न हुनेछ र त्यो रिक्तता भर्न को आउँछ अहिले भन्न सकिँदैन । त्यसैले अहिलेको सरकार साँचिकै गम्भीर मोडमा बनेको हो । यद्यपि सरकारका अहिलेसम्मका काम हेर्दा आशलाग्दो गरी केही पनि भएको छैन ।
पर्यटन दशक घोषणा भएको डेढ वर्ष बितिसक्दासम्म एउटै सरकारी कार्यक्रम हुन नसकेको अवस्थामा मन्त्रीले यसलाई सफल पार्न तत्काल समिति गठन गरेर काम अघि बढाइहाल्नुपर्छ ।
उही पुरानै भाषण र वक्तव्यबाजीमै केन्द्रित रहेको देखिन्छ । उद्घाटन, स्वागत, माला र खादामा नै रमाइरहेको देखिन्छ । यी सबै काम छाडेर मन्त्रीहरू गुप्तवास बसेर योजना बनाई काममा लागे भने मात्रै परिणाम दिने गरी काम आउँछ । अहिले पर्यटन मन्त्रालय युवा नेतृत्व बद्री पाण्डेले सम्हालेका छन् । बोलीमा निर्भीकता र अहिलेसम्म खासै विवादमा पनि नआएकाले पर्यटन क्षेत्रमा उत्साही युवाबाट केही होला कि भन्ने अपेक्षा गरिएको छ । यद्यपि नयाँ पर्यटनमन्त्री आउनेबित्तिकै दुईदुईओटा हवाई दुर्घटनाले नेपालको पर्यटनमा निराशा थपेको छ । त्यसैले नयाँ पर्यटनमन्त्रीले तत्कालै र दीर्घकालीन रूपमा केही खाका बनाएर काम थाल्न ढिला गर्नु हुँदैन ।
मुलुकको आर्थिक रूपान्तरणमा दिगो योगदान दिने क्षेत्रमध्ये प्रमुख पर्यटन नै हो भन्ने कुरामा विवाद छैन र यो तथ्यलाई सबैले स्वीकारेका छन् । नेपालको पर्यटनको विशेषता भनेको प्रकृतिनिर्मित सुन्दरतालाई ब्रान्डिङ गरी उपयुक्त सेवा दिने र त्यसका लागि पूर्वाधार तयार पार्नेलगायत काम हुन् । यसमा अहिलेसम्म निजीक्षेत्रले प्रशस्त लगानी गरेकाले यो क्षेत्र चलायमान भइरहेको छ । तर, सरकारबाट जुन किसिमको कार्यक्रम आउनुपर्ने हो, जेजस्तो काम गर्नुपर्ने हो त्यो भएको छैन । त्यसैले प्राथमिकता तय गरेर विज्ञ र व्यवसायीहरूसँग लाभदायी अन्तरक्रिया गरेर पर्यटनमा क्षेत्रमा गतिलो केही काम गर्ने अवसर मन्त्री पाण्डेलाई छ । मन्त्री बन्नु ठूलो कुरा होइन, परिणाम दिन सक्नुचाहिँ ठूलो कुरा हो ।हवाई क्षेत्र
पर्यटनमन्त्रीले सबैभन्दा बढी गर्नुपर्ने काम भनेको नेपालको हवाई क्षेत्रमा सुधार हो । एकातिर यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको छ भने अर्कातिर दुर्घटनाको दर अलिक बढी नै देखिन्छ । पर्यटनको मुख्य आधार नै हवाई क्षेत्र भएकाले यस क्षेत्रमा गतिलो सुधार नगरी नेपालको पर्यटन दिगो बन्न सक्दैन । हवाई क्षेत्रको सुधारका लागि गर्नुपर्ने काम केही यस्ता छन् ।
क) हवाई क्षेत्रको नियमनमा कडाइ र पारदर्शिता
अहिले नेपालमा हवाई क्षेत्रको नियमन र विमानस्थललगायत सेवाप्रदायकको काम नेपाल नागरिक उड््डयन प्राधिकरणले गरिरहेको छ । दुवै काम एउटै निकायले गर्दा दुवै काम प्रभावकारी हुन सकेको छैन । उड्डयनसम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओले यसलाई अलग्याउन सुझाव दिएको धेरै भइसक्यो । युरोपेली संघको उड्डयन क्षेत्र हेर्ने संस्थाले पनि यो सुझाव दिएको छ । त्यसैअनुसार ऐनको मस्यौदा बनेर पनि प्रधानमन्त्री कार्यालयमा अड्किएको बताइन्छ । त्यसलाई तत्काल अघि बढाउन र आवश्यक परे संशोधन गर्नसमेत आवश्यक छ । दुर्घटना बढेपछि संसदीय समितिले समग्र हवाई क्षेत्रको सुरक्षाको अध्ययन गर्न समिति गर्न सरकारलाई निर्देशन दिएको छ ।
साथै, दुर्घटना भएपछि अध्ययन समिति बनाउनभन्दा स्थायी प्रकृतिको समिति बनाउन युरोपेली संघले सुझाव दिएको समाचारमा आएको छ । मन्त्री पाण्डेले पूर्वपर्यटनमन्त्रीहरूसँग छलफल गरेको र उनीहरूले प्राधिकरणलाई खण्डीकरण गर्न सुझाव दिएको समाचार आएको छ । उनीहरू आफू मन्त्री हुँदा त्यसो गर्न नसकेको हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ । त्यसो हो भने नियमनका लागि अलग संयन्त्र बनाउन ढिला भइसकेको छ । त्यही नियामक निकायले नै समग्र सुरक्षाका बारेमा नीति बनाएर निर्देशन दिन सक्छ । जेजस्तो संयन्त्र बनाउँदा प्रभावकारी र पारदर्शी नियमन हुन सक्छ, त्यसतर्फ निर्णय गर्न ढिला गर्नु हुँदैन । हवाई असुरक्षाको सन्देश गएमा अन्य सुधार जेजस्तो गरेर पर्यटक आगमन बढ्न कठिन हुन्छ । त्यसमा पनि गुणस्तरीय पर्यटकको आगमनको त कल्पना पनि गर्न कठिन हुन्छ । उडान स्वीकृति, विमानको स्वीकृति आदिमा धेरै नै अनियमितता हुन सक्ने भएकाले यसको प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक छ ।
ख) छानबिन समितिको सुझाव कार्यान्वयन
अहिले पर्यटनमन्त्रीले प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग सुझाव लिइरहेको, छलफल गरिरहेको समाचार आएको छ । यो असल अभ्यास हो । वर्तमान पदाधिकारीको केही स्वार्थ हुन सक्छ तर पूर्वमहानिर्देशकले समस्याको यथार्थ देखाउन सक्छन् र समाधानको बाटो पनि बताउन सक्छन् । त्यसो हुँदा यसबाट पर्यटनमन्त्रीले पक्कै पनि केही ठोस निर्णय लेलान् भन्ने आशा गर्न सकिन्छ । अहिले नयाँ समिति बनाउने सुझाव संसदीय समितिले दिएको छ ।
यस्तो समिति गठन गर्ने र सुझाव पर्खने हो भने पर्यटनमन्त्रीले काम गर्न समय नै पाउन कठिन हुन्छ । तीन/चार महीनामा प्रतिवेदन आउँछ, त्यसपछि प्रतिवेदनको अध्ययन गर्न समय लाग्छ । यसरी काम गर्दा पर्यटनमन्त्रीले बिदा लिने बेला भइसक्न सक्छ । त्यसैले पहिलेका समितिले दिएका सुझावको अध्ययन गरी तिनका सुझाव कार्यान्वयनमा लैजाँदा छिटो काम गर्न सकिन्छ । त्यस्तै सेनासँग समेत सुझाव लिएको समाचार आएको छ । यस्तो सुझाव लिनु सकारात्मक भए पनि ठोस निर्णय लिन कठिन हुन सक्छ । समिति गठन गर्दै गर्न सकिन्छ । तर, सुधारका लागि समितिको सुझाव कुर्नतिर लाग्ने हो भने काम गर्न सक्दैनन्, भ्याउँदैनन् । विज्ञहरूको सानो समूह बनाएर काम गर्दा निकै सजिलो हुन्छ ।
ग) निजगढ विमानस्थल
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले धेरै उडान थेग्न सक्दैन । त्यसो हुँदा निजगढ विमानस्थल बनाउन थालिहाल्नुपर्ने देखिन्छ । यसको निर्माण अहिले प्रारम्भ भए पनि निर्माण भएर सञ्चालनमा आउन १ दशक नै नलाग्ला भन्न सकिँदैन किनभने नेपालको पूर्वाधार निर्माणको गति एकदमै सुस्त छ । अबको १० वर्षपछि त्रिभुवन विमानस्थलले कुनै पनि हालतमा सेवा दिन सक्दैन । यसको विकल्प भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बन्न सक्दैन । त्यसो हुँदा उपयुक्त मोडालिटी, पारदर्शी प्रक्रिया र उपयुक्त कम्पनी छनोट गर्न सके मन्त्रीको सफलता हुनेछ ।
तर, कमिशनको आरोप लाग्ने सम्भावनाबाट बचेर काम गर्न भने कठिन छ । यहीँनेर हो, मन्त्रीको क्षमताको परख हुने ठाउँ । निजगढ विमानस्थलका विरोध गर्ने पनि छन् । तर, वातावरणलाई मात्रै प्राथमिकता दिएर विकासको गतिलाई रोक्न मिल्दैन । यद्यपि वातावरणमा कमभन्दा कम क्षति पुर्याउनुपर्छ । ज्यादै ठूलो रकम लाग्ने भएकाले यसमा विशेष सतर्कतासाथ निर्णय लिन भने आवश्यक छ र साहस पनि उत्तिकै आवश्यक छ ।
घ) नेपाल वायुसेवाको पुन: संरचना
नेपाल वायुसेवा निगमको उडान जति विस्तार हुन्छ त्यति नै नेपालको पर्यटनले बढी लाभ लिन्छ । अहिले पर्यटक आगमन १० लाख नाघेपछि त्यसको लाभ विदेशी वायुसेवा कम्पनीले लिइरहेका छन् । निगम भने ऋणको किस्ता तिर्न नसकेर समस्यामा छ । यसमा एकातिर निगमकै आन्तरिक समस्या कारण छ भने अर्को ईयूको कालोसूची पनि छ । निगम कहिल्यै व्यावसायिक बन्न सकेन । वायुसेवाको व्यापार अनौठो हुन्छ । त्यसको रणनीति पनि फरक हुन्छ ।
विमानहरू कस्तोकस्तो लिने, कुनकुन क्षेत्रमा कसरी उडान तालिका मिलाउने, टिकटको मूल्यको रणनीति कसरी तय गर्ने भन्ने कुरा जटिल र प्राविधिक हुन्छ । अहिले टिकटको मूल्यका लागि एआई अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग हुन्छ । यो निकै प्रतिस्पर्धी व्यवसाय हो । त्यसैले वायुसेवा कम्पनीहरू चाँडोचाँडो प्रगति गर्छन् र ओरालो पनि लाग्छन् । निगमको सुधारका लागि नौओटा समिति बनिसकेका छन् र तिनका सुझावहरू पर्यटन मन्त्रीकै कार्यकक्षमा छन् । तिनको अध्ययन गरेर विज्ञहरूसँग उपयुक्त राय लिएर तिनलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्छ ।
प्राय: सबैजसो अध्ययन समितिको निष्कर्ष यसलाई कुनै न कुनै तरीकाले निजीकरण गर्नु हो भन्ने देखिन्छ । रणनीतिक साझेदार भित्त्याउनु, यसको आन्तरिक र बाह्य उडानका लागि अलगअलग निगम बनाउनु वा यसको शेयर निजीक्षेत्रलाई दिनुजस्ता सुधारका उपायमध्ये कुनै एकमा जानुपर्छ । यो त्यति सजिलो प्रक्रिया भने छैन ।
अर्को, निगमको सञ्चालन व्यावसायिक नेतृत्वले गर्न सकेको छैन । त्यसैले त्यहाँको नेतृत्वसँग व्यावसायिक योजना माग्नुपर्छ । अथवा त्यस्तो योजना बनाउन सक्ने व्यक्तिलाई नेतृत्वमा लैजानुपर्छ । व्यवस्थापन करारमा दिन पनि सकिन्छ । जुनसुकै उपायमा गए पनि प्रक्रिया पारदर्शी बनाउन आवश्यक छ । प्रक्रिया पारदर्शी भएन भने मन्त्रीले भ्रष्टाचार गरेको आरोप लाग्ने निश्चित छ ।
सरकारले निजीकरण गरेर सार्वजनिक संस्थाको बोझ कम गरेको थियो । अहिले दुग्ध विकास संस्थानले किसानसँग दूध किनेर बढी मूल्यमा उपभोक्तालाई बेचेकै छ तर किसानलाई दूधको भक्तानी दिन सकेको छैन । सार्वजनिक संस्थान कसरी सञ्चालन भइरहेका छन् भन्नेमा यो एउटा उदाहरण पर्याप्त छ । यो तथ्य बुझेर पनि सरकारी संस्था बेचेर खाएको आरोप त्यतिबेलाको सरकारलाई लागिरहेको छ । त्यसैले कुनै पनि मन्त्रीले निगम सञ्चालनका लागि साहसिक निर्णय लिन नसकेका हुन् । निगम नसुधारी नेपाली पर्यटनले उच्च गति लिने र यसबाट लाभ लिने कुरा नसोचे पनि हुन्छ । नयाँ मन्त्रीबाट यसमा ठोस निर्णय आयो भने निगमको कायापलट हुन्छ र पर्यटन व्यवसायलाई लाभ मिल्छ ।
ङ) हवाई सुरक्षा
हवाई उडानमा मौसम पूर्वानुमानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले र मौसमकै कारण अर्थात् बादल लागेका बेला उडान भर्दा नुवाकोटको शिवपुरी सुइरेचौरमा हेलिकोप्टर दुर्घटना भएको निष्कर्ष निकालेकाले मौसमका बारेमा पनि समीक्षा गरेर काम गर्नुपर्ने अवस्था छ । हुन त हवाई उड्डयन मौसम शाखा भन्ने छुट्टै निकाय छ । तर, यसमा जनशक्तिको अभाव छ । २४ घण्टा ३६५ दिन नै सेवाप्रदान गर्ने यो शाखामा १३ जना कर्मचारी रहेको बताइन्छ । अहिले हवाई चाप निकै बढेको छ ।
त्यसैले यसका लागि जनशक्ति थप्नुपर्छ र आवश्यक तालीमसमेत दिनुपर्छ । आइकाओले हेर्ने उडान सुरक्षाका कुल आठओटा विषयमध्ये नेपालको सबैभन्दा कमजोर पक्ष विमान दुर्घटना र घटना अनुसन्धानमा देखापरेको छ । छानबिन समितिले दिएका सुझाव–सिफारिश कार्यान्वयनमा चासो दिने गरिएको छैन । दुर्घटना जाँचमा स्थायी संयन्त्र हुनुपर्छ । यो स्थायी संयन्त्रको काम वास्तवमा नियामकको हो । उसले नियमित अनुगमन गर्दै सुधारका लागि पूर्ण रूपमा जिम्मेवार हुन्छ ।
कानूनले निर्दिष्ट गरेको अख्तियारी तथा क्षेत्राधिकारभित्र रहेर जिम्मेवारी पूरा नगर्ने तथा दोषीलाई कारबाही नगर्ने सम्बद्ध अधिकारीमाथि पनि कारबाही गर्न आवश्यक छ । नागरिक उड्डयन प्राधिकरणमा संरचनात्मक सुधार, जल तथा मौसम विभागको कमीकमजोरीलाई हटाउन आर्थिक सहयोग र उपलब्ध प्रतिवेदनका सुझाव सार्वजनिक गर्नु र कार्यान्वयन गर्नु तत्कालका लागि सुधारको थालनी हो ।
नीतिगत, कानूनी र संरचनागत सुधारका लागि मन्त्री पाण्डेले सरोकारवालाहरूसँग सुझाव लिइरहेको देखिन्छ । अहिले मन्त्रालय मातहतका बेथिति र विसंगतिहरूलाई हटाउन १८ घण्टा काम गरिरहेको बताएका मन्त्री पाण्डेले विकृतिको डुङ्गुर माथि उभिएको काम गर्नुपर्ने अवस्था छ । यसमा थोरै मात्र सुधारका काम गर्न सके उनको सफलता मानिनेछ ।
पर्यटनका कार्यक्रम
नेपालले पर्यटन प्रवर्द्धनका लागि केकस्तो रणनीति लिने हो, कस्तो खालको पर्यटनलाई प्रोत्साहन गर्ने हो र पर्यटनको आगामी दिशा के हुने हो भन्ने अन्योल कायमै रहेको पाइन्छ । कुनै पर्यटनमन्त्रीले आन्तरिक भ्रमण वर्षको योजना ल्याए, कसैले पर्यटन दशकको कुरा गरे, कसैले के कसैले के । तर, ती सबै कार्यक्रम कार्यान्वयन भएनन् । नेपाललाई सघाउन चीनले नेपाल भ्रमण वर्ष २०२५ मनाएर आफ्ना पर्यटकलाई नेपाल पठाउने जानकारी दिएको छ । तर, सरकार फेरिएकाले यो कार्यक्रम के हुने हो, थाहा छैन ।
समयबद्ध कार्यतालिका र प्राथमिकता तय गरेर उनले काम थाल्नुपर्छ । सबैतिर हात हाल्दा असफलता मिल्न सक्छ । त्यस्तै विज्ञको सानो टोली बनाएर प्राथमिकता तय गर्नु आवश्यक छ । विज्ञमा पर्यटन व्यवसायी, पूर्वकर्मचारी र विषयविज्ञ हुनुपर्छ । तर, स्वार्थसमूहबाट भने बचेर काम गर्नुपर्छ ।
पर्यटनमन्त्रीले यो ठूलो अवसर भएकाले यसमा तत्काल कुरा थालिहाल्नुपर्छ । नेपालले केके गर्छ र चीनले केके गर्ने हो तय गरिनुपर्छ । चीन हाम्रा लागि पर्यटनको ठूलो स्रोत बजार हो । त्यसैले यसलाई गम्भीरताका साथ लिनुपर्छ । चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको वर्ष विशेष मनाउन उसले नेपाललाई सघाउन खोजेको देखिन्छ । यसमा पर्यटनमन्त्रीले विशेष चासो दिनुपर्छ । चिनियाँ पर्यटक ल्याउने, तिनलाई आवश्यक पर्ने पूर्वाधार केके बनाउने भन्ने स्पष्ट दृृष्टिकोणका साथ काम गर्ने हो भने चीनकै पर्यटक १० लाख पुग्न सक्छन् ।
घोषणामै सीमित रहेको पर्यटन दशक (सन् २०२३–२०३३) लाई अघि बढाउनैपर्छ । अहिले पर्यटन रणनीतिका नाममा यसलार्य ओझेल पार्ने प्रयास गरिएको छ । यी दुवै कुरा समान रूपमा महत्त्वपूर्ण छन् । पर्यटन दशक घोषणा भएको डेढ वर्ष बितिसक्दासम्म एउटै सरकारी कार्यक्रमहरूसमेत हुन नसकेको अवस्थामा मन्त्रीले यसलाई सफल पार्न तत्काल समिति गठन गरेर काम अघि बढाइहाल्नुपर्छ ।
अर्को, नेपाल पर्यटन बोर्डले उद्देश्यअनुसार काम गर्न सकेको छैन । निजीक्षेत्र यो संस्थासँग अहिले खुशी छैन । त्यसो हुँदा यसलाई पुन: संरचना गर्न आवश्यक छ । यसलाई पूर्णरूपमा निजीक्षेत्रको जिम्मामा दिँदा बढी प्रभावकारी हुन सक्छ । यसबारे निजीक्षेत्रसँग सरसल्लाह गर्नु आवश्यक देखिन्छ ।
यस्तै नेपालमा निर्माण भएका अन्तरराष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न, रूट परमिट ल्याउनदेखि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने, सगरमाथालगायत अन्य हिमालको पहिचान, प्रवर्द्धन, आरोहणका लागि नीतिगत सुधार गर्नुपर्ने जिम्मेवारी पनि छ । सत्ता साझेदार दल नेपाली कांग्रेसको सहमहामन्त्रीसमेत भएकाले काम गर्न केही सहज पनि देखिन्छ । साथै उनका लागि यो ठूलो अवसर हो । त्यसैले समयबद्ध कार्यतालिका र प्राथमिकता तय गरेर उनले काम थाल्नुपर्छ ।
सबैतिर हात हाल्दा असफलता मिल्न सक्छ । त्यस्तै विज्ञको सानो टोली बनाएर प्राथमिकता तय गर्नु आवश्यक छ । विज्ञमा पर्यटन व्यवसायी, पूर्वकर्मचारी र विषयविज्ञ हुनुपर्छ । तर, स्वार्थसमूहबाट भने बचेर काम गर्नुपर्छ । समूह यो अवसरलाई उपयोग गर्न सके पर्यटन क्षेत्रले त गति लिन्छ नै देशले एउटा सम्भावित नेता पनि पाउँछ जसले आशा जगाउँछ । अन्यथा युवा पुस्ता पनि असफल हुँदा मुलुकमा झनै निराशा छाउने निश्चित छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।