अमेरिका । अमेरिकी अर्बपति एलन मस्क नेतृत्वको लगानीकर्ताको एक समूहले ओपनएआईलाई नियन्त्रण गर्ने गैर लाभकारी संस्थाको सम्पत्ति खरीद गर्न ९७.४ बिलियन डलरको बोली लगाएको छ ।
लगत्तै अल्टम्यानले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘नाइ, धन्यवाद, तर तपाईं चाहानुहुन्छ भने हामी ट्विटर (एक्स) ९.७४ बिलियन डलरमा किन्ने छौं ।’
ओपनएआईलाई मस्कको एआई कम्पनीले मात्रै होइन, हलिवुड पावर ब्रोकर एरी इम्यानुअल लगायतले पनि खरीद गर्न चाहेको समाचार एजेन्सीले बताएका छन् ।
समाचार एजेन्सीका अनुसार ओपनएआई गैर–लाभकारी संस्थाबाट लाभ–प्राप्त संस्थामा परिवर्तन हुने प्रयास गरिरहेको छ । सर्वाेत्तम एआई मोडल विकसित गर्नका लागि आवश्यक पूँजी सुरक्षित गर्न लाभ–प्राप्त संस्था हुन आवश्यक रहेको ओपनएआईको भनाइ छ ।
मस्कले गत वर्ष अगस्टमा अल्टम्यान लगायतविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा उनीहरूमाथि एआईलाई अगाडि बढाउन सार्वजनिक हितभन्दा पहिले लाभलाई प्राथमिकता दिएर कानून उल्लंघन गरेको आरोप लगाइएको थियो । सोही वर्ष नोभेम्वरमा उनले एक अमेरिकी जिल्ला न्यायाधीशसँग ओपनएआईलाई लाभ–उन्मुख संरचनामा बदल्नबाट रोक्न प्रारम्भिक निषेधाज्ञाको माग गरेका थिए । यसले मस्क र अल्टम्यानबीच तनाव बढेको थियो ।
मस्कले सन् २०१५ मा अल्टम्यानसँग मिलेर ओपनएआईको स्थापना गरेका थिए । तर, कम्पनी शुरु हुनुअघि नै उनले छाडेका थिए । त्यसको ८ वर्षपछि सन् २०२३ मा उनले एआई स्टार्टअप एक्सएआई स्थापना गरेका थिए ।