काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड २ ले फागुन महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार यी दुवै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । एनआईबिएल समृद्धि फण्ड २ को न्याभ माघ मसान्तसम्म रू. ८ दशमलव ९६ रहेकोमा फागुन मसान्तसम्म रू. ८ दशमलव ६१ कायम भएको हो ।
त्यस्तै एनआईबिएल प्रगति फण्डको न्याभ माघ मसान्तसम्म रू. १० दशमलव ५३ रहेकोमा फागुन मसान्तसम्म रू. ९ दशमलव ८७ मा झरेको छ । फण्डले फागुन मसान्तसम्म रू. ९८ लाख ३४ हजार नोक्सानी व्यहोरेको छ । माघ मसान्तसम्म भने फण्डले रू. ३ करोड ९६ लाख नाफा कमाएको थियो ।
फागुन महीनामा फण्डको खर्चमा वृद्धि र जम्मा आम्दानी रू. ३ लाख ५५ हजार ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । माघ महीनामा फण्डको जम्मा खर्च रू. ८३ लाख ८५ हजार रहेकोमा फागुन महीनामा बढेर रू. ९४ लाख ७९ हजार पुगेको छ । फण्डले फागुन महीनामा सूचीकृत शेयरमा रू. ४४ करोड ६३ लाख लगानी गरेको छ ।
त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ ले फागुन मसान्तसम्म रू. ८५ लाख ८ हजार नाफा कमाएको छ । यो नाफा माघ महीनाको तुलनामा ८६ प्रतिशत कम हो । माघ मसान्तसम्म फण्डले रू. ६ करोड ७ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको आम्दानीमा कमी आएको छ ।
माघ महीनासम्म फण्डले जम्मा रू. ७ करोड ४६ लाख आम्दानी गरेकोमा फागुन मसान्तसम्म घटेर रू. २ करोड ४३ लाखमा कायम भएको छ । फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ६५ करोड ४८ लाख लगानी गरेको छ ।