काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड ३, नबिल इक्वीटी फण्ड, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार यी चार ओटै फण्ड फागुन मसान्तमा नोक्सानीमा रहेका छन् । माघ मसान्तसम्म रू. ४ करोड १२ लाख नाफा कमाएको नबिल ब्यालेन्स्ड फण्ड २ ले फागुन मसान्तसम्म रू. ३ करोड ५९ लाख नोक्सानी व्यहोरेको हो ।
त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डले फागुन मसान्तसम्म रू. १ करोड ६२ लाख नोक्सानी व्यहोरेको छ । माघ मसान्तसम्म पनि फण्ड रू. ४० लाख ७२ हजार नोक्सानीमा थियो । माघ महीनाको तुलनामा फण्डको नोक्सानी फागुन महीनामा बढेको छ ।
माघ मसान्तसम्म रू. ५ करोड १२ लाख नाफा कमाएको नबिल इक्वीटी फण्डले फागुन मसान्तसम्म रू. २ करोड ९८ लाख नोक्सानी व्यहोरेको छ । त्यस्तै नबिल ब्यालेन्स्ड फण्ड ३ फागुन मसान्तसम्म रू. १ करोड ६७ लाख नोक्सानीमा रहेको छ ।
फण्डले माघ मसान्तसम्म रू. ४ करोड ७१ लाख नाफा कमाएको थियो । फागुन महीनामा यी चार ओटै फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक रहेको छ ।
माघ महीनाको तुलनामा फागुन महीनामा यी फण्डहरूको न्याभ पनि घटेको छ । माघ महीनासम्म रू. ८ दशमलव ९५ रहेको नबिल ब्यालेन्स्ड फण्ड ३ को न्याभ फागुन मसान्तसम्म रू. ८ दशमलव ४४ कायम भएको हो । फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ६५ करोड ४० लाख लगानी गरेको छ ।
माघ मसान्तसम्म रू. १० दशमलव ५० रहेको नबिल इक्वीटी फण्डको न्याभ फागुन मसान्तसम्म रू. ९ दशमलव ८५ कायम भएको छ । त्यस्तै फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ७६ करोड ४६ लाख लगानी गरेको छ ।
त्यसैगरी माघ महीनासम्म रू. ९ दशमलव ९१ रहेको नबिल फ्लेक्सी क्याप फण्डको न्याभ पनि फागुन मसान्तसम्म रू. ९ दशमलव ६५ कायम भएको छ । फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू.१७ करोड १८ लाखभन्दा बढी लगानी गरेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड २ को न्याभ फागुन मसान्तसम्म रू. ९ दशमलव ७८ कायम भएको छ । फण्डको न्याभ माघ मसान्तसम्म रू. १० दशमलव ४७ थियो । फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयरमा रू. ८० करोड २६ लाख लगानी गरेको छ ।