काठमाडौं । झन्डै २ वर्षअघि उद्घाटन भएर पनि नियमित अन्तरराष्ट्रिय उडान नभएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न पहिलोपल्ट हिमालय एयरलाइन्स कस्सिएको छ ।
नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आएको निजीक्षेत्रको हिमालय एयरलाइन्सले साताको ४ दिन सोमवार, मंगलवार, बुधवार र शुक्रवार काठमाडौं र पोखराबाट चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा नियमित उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रस्ताव गरेको छ ।
हिमालय एयरलाइन्सले उडान तालिका र समयसहित प्राधिकरणमा उक्त गन्तव्यमा उडान गर्न प्रस्ताव गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भए पनि कुनै अन्तरराष्ट्रिय विमान कम्पनीले नियमित अन्तरराष्ट्रिय उडान गरेका छैनन् ।
प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले साताको सोमवार काठमाडौं–ल्हासा र ल्हासा–पोखरा, मंगलवार पोखरा–ल्हासा, ल्हासा–काठमाडौं र बुधवार काठमाडौं–ल्हासा र ल्हासा–काठमाडौं र शुक्रवार काठमाडौं–ल्हासा र ल्हासा–काठमाडौं गन्तव्यमा उडान गर्न स्वीकृति मागेको हो ।
प्राधिकरणले हिमालयलाई उक्त गन्तव्यमा उडान गर्ने स्वीकृति दिन बाँकी रहेको भुलले बताए । ‘अहिले प्रक्रियामा छौं, ल्हासाको सम्बद्ध निकायले यो उडानका लागि स्वीकृति दिएलगत्तै प्राधिकरणले पनि उक्त गन्तव्यमा उडानको स्वीकृति दिनेछ ।’
नेपाल र चीनका लगानीकर्ताको संयुक्त उपक्रममा सन् २०१४ मा अन्तरराष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स स्थापना भएको थियो । तिबतान सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (टीसीएडीआइसी) र नेपाली साझेदार यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिको संयुक्त लगानीको हिमालयले स्थापनाको लामो समयपछि ल्हासामा सीधा उडानका लागि प्रक्रिया अघि बढाएको हो ।
सरकारले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान आकर्षित गर्न विभिन्न सुविधा घोषणा गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि कात्तिक २३ गतेदेखि चैतसम्म दैनिक १० घण्टा बन्द हुने भएकाले काठमाडौंको विमानस्थलबाट अन्तरराष्ट्रिय उडान ३० प्रतिशत कटौती भएको छ । त्यसको पूर्तिका लागि २० प्रतिशत गौतमबुद्ध र १० प्रतिशत पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न प्राधिकरणले एयरलाइन्शहरूलाई आग्रह गरेको थियो ।
भैरहवा र पोखराबाट शुरूमा उडान गर्दा घाटा हुने सम्भावनालाई दृष्टिगत गर्दै २ वर्षको प्याकेज प्राधिकरणले दिएको थियो । प्राधिकरणले २ वर्षसम्म ल्यान्डिङ, पार्किङ शुल्क नलाग्ने, बाहिरबाट उडान गर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० रुपैयाँ छूट, यात्रुले तिर्ने मूल्य अभिवृद्धिकर (भ्याट–यद्यपि भ्याट छूट भने अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छैन) छूट गर्नेजस्ता प्याकेज ल्याएको थियो ।
करीब आधा दर्जन अन्तरराष्ट्रिय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरे पनि पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान भएको छैन । चिनियाँ लगानीको एयरलाइन्सले चिनियाँ सहयोगमै बनेको विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान गर्न खोजेको हो ।