काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सो अवधिसम्म २५ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २३ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा २३ दशमलव ४३२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको हो ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । १९ प्रतिशत बोनस शेयरमार्फत चुक्ता पूँजी बढाएर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष रकम २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १८ करोड ८ लाख रुपैयाँभन्दा बढी छ ।
कर्जा सापटी अघिल्लो वर्षभन्दा गत वर्ष २१ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह २६ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले गत वर्ष यस अवधिसम्म ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मात्र कर्जा सापटी लिएको छ ।
कर्जा प्रवाह भने अघिल्लो वर्ष १० अर्ब ३९ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ६५ करोड ६२ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य रहेकोमा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ ८६ पैसा छ ।