काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीहरूलाई कुल ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।
कम्पनीले गत वर्ष शेयरधनीलाई अघिल्लो आवको मुनाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आधारमा अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको लाभांश दर घटेको छ ।