काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओमा माग भन्दा १ दशमलव ८४ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार सोमवार बिहान १० बजेसम्ममा ७ लाख ९२ हजार ७२० जना आवेदकले ९५ लाख ३ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन ।
कम्पनी कात्तिक २५ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा विक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
जसमध्ये २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने१ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी- आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । माग भन्दा बढी आवेदन परेकाले आईपीओ बन्द मिती छिटो कात्तिक २९ गते कार्यालयसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।