काठमाडौं। राष्ट्रियस्तरको वित्त कम्पनी पोखरा फाइनान्स संकटउन्मुख अवस्थामा पुगेको छ । कम्पनीको खराब कर्जा लगातार वृद्धि हुनुका साथै पूँजीकोष अनुपात पनि तोकिएको मापदण्डभन्दा तल झरेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीको तयारी गरेको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार फाइनान्सको वित्तीय अवस्था सुधार नभएकाले कारबाही गर्नुपर्ने अवस्था देखिएको स्रोतले बताएको छ । ‘हामी फाइनान्सको अवस्था विश्लेषण गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘यसको अहिलेको वित्तीय अवस्था भनेको शीघ्र सुधारात्मक कारबाही हुने अवस्था हो ।’
फाइनान्स कम्पनीको चालू आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार यसले १२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिसम्म फाइनान्स ४ करोड ९० लाख रुपैयाँ घाटामा छ ।
यसैगरी असोजमा यसको खराब कर्जा अनुपात १४ दशमलव ४४ प्रतिशत छ । गत आवको यसै अवधिमा कम्पनीको खराब कर्जा अनुपात ४ दशमलव १३ प्रतिशत मात्र थियो । यस्तै गत आवको असोजमा १४ दशमलव २९ प्रतिशत पूँजीकोष अनुपात रहेकोमा घटेर यस वर्ष असोजमा १० दशमलव ९९ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी र पूँजीकोष अनुपात १० प्रतिशतभन्दा कम भएको अवस्थामा शीघ्र सुधारात्मक कारबाही गर्न सक्छ ।
यस्तो कारबाही भएको कम्पनीलाई राष्ट्र बैंकले थप निक्षेप दायित्व नबढाउन, खराब कर्जा उठाउन र खर्च घटाउन निर्देशन दिन सक्ने प्रावधान छ । राष्ट्र बैंक स्रोतले शीघ्र सुधारात्मक कारबाहीको चरणमा उक्त फाइनान्स कम्पनी रहे पनि राष्ट्र बैंकले व्यवस्थापन नै नियन्त्रणमा लिने अवस्था भने तत्काल नरहेको बतायो । शीघ्र सुधारात्मक कारबाही गर्दा पनि अवस्था नसुध्रेपछि पुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिएको छ ।
यसैबीच लामो समयदेखि समस्याग्रस्त शेयर मार्केटस् एन्ड फाइनान्सको व्यवस्थापन समितिको एक सदस्य नियुक्तिको प्रक्रिया पनि राष्ट्र बैंकले अघि बढाएको छ । यसका लागि चार जनाको संक्षिप्त सूची राष्ट्र बैंकले प्रकाशित गरेको छ ।