काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न शुरु गरेको छ ।
गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) को राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात शुरु गरेको हो ।
गतवर्ष असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् विक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करीब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेश निर्यात गर्न पाउनु खुशीको खबर भएको बताए । “बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,” मन्त्री खड्काले भने ।
नेपालले हरेक वर्ष ५ महिना बर्षात्मा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने अबको ५ महिना बङ्गलादेशमा निरन्तर विद्युत् निर्यात गर्नेछ ।
ऊर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत् भएको बताए । विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गतवर्ष सम्झौता भएको थियो ।
आजदेखि बङ्गलादेश निर्यात शुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । ५ महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उप–प्रवन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।
उक्त विद्युत् विक्रीवापत नेपालले ५ महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गर्नेछ । उक्त सम्झौताबमोजिम निर्यात हुने विद्युत्को विक्रीदर ६.४० अमेरिकी सेन्ट प्रतियुनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनमा पुग्नेछ ।
ऊर्जा क्षेत्रमा दीर्घकालीन महत्त्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, नेपालको जलविद्युत्को अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ ।
सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य रहेको छ ।
भारतमा पनि विद्युत निर्यातको निरन्तरता
नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यसवर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात शुरु गरिसकेको छ ।
जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले हिजो शनिवारदेखि फेरि हरियाणाका लागि २०० मेगावाट विद्युत् निर्यात शुरु गरेको हो । नेपाल-भारत द्विपक्षीय सम्झौताबमोजिम यो विद्युत् निर्यातको विक्रीदर ५.२५ भारतीय रुपया प्रतियुनिट रहेको छ ।
त्यस्तै, प्राधिकरणले गएराति १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात शुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफ्फरपुर ४०० केभी र १३२ केभी प्रसारणलाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरीद विक्री भइरहेको छ ।
बर्खा लागेसँगै नेपालमा विद्युत् उत्पादन बढेकाले नेपालको आन्तरिक माग पूरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेश निर्यात गर्न लागिएको हो ।