काठमाडौं । प्राप्ति प्रकृयामा रहेका सिभिल बैंक र हिमालयन बैंकले वार्षिक साधारण सभा आह्वान गरेका छन् । दुवै बैंकले एकै दिन पुस २८ गते वार्षिक साधारण सभा बोलाएका हुन् । हिमालयन बैंकले होटल सोल्टी, सोल्टीमोड, काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा बोलाएको हो भने सिभिल बैंकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे १२औं वार्षिक साधारण सभा बोलाएको हो ।
हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गर्न लागेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
सभाले प्राप्ति प्रकृया र यसका लागि तय भएको शेयर आदानप्रदान अनुपातलाई समेत स्वीकृति दिनेछ ।
प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णयसमेत सभाले गर्नेछ ।
उल्लेखित प्रस्तावहरूसँगै दुवै बैंकको गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति सभाले प्रदान गर्नेछ ।
यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४३ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
दुवै बैंकले वार्षिक साधारण सभाको लागि बुक क्लोजको मिति समेत तय गरेका छन् । हिमालयन बैंकले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ भने सिभिल बैंकले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा हिमालयन बैंकको पुस १७ गतेसम्म कायम शेयरधनीहरू र सिभिल बैंकको पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।