काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।
कम्पनीले तोकिएको समयभित्र लाभांश घोषणासम्बन्धी निर्णयबारे जानकारी नगराएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । साथै नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत निर्देशन दिएको छ ।
कम्पनी सञ्चालक समितिको आइतवार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणासम्बन्धी निर्णय गरेको थियो । कम्पनीले त्यसको जानकारी निर्णय गरेको दिनको भोलिपल्ट १२ः१३ बजेमात्र नट्समार्फत पठाएको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
कम्पनीले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दाङको घोराहीस्थित होटल माला ईनमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।