काठमाडौं । मुक्तिनाथ विकास बैंकले यही पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो ।
सभा कास्कीको पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले १ सय रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
त्यस्तै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभामा लाभांश प्रस्ताव भने गरिएको छैन । बैंकले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरिसकेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम रहेका शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।