काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । वैशाख ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ छ । प्रस्तावित लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत वर्ष १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले यस अघि सातौं वार्षिक साधारण सभाबाट ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । यस वर्षको ८ प्रतिशत बोनस शेयर वितरणपछि नियामक निकायले तोकेबमोजिम पूँजी कायम हुने भएपछि उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रद्द गर्ने भएको छ । आठौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लाजको आधारमा जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।