न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली विभिन्न देशका उच्च तहका व्यक्तित्त्वहरूसँग भेटघाट गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह, भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे लगायत अन्य देशका प्रमुखहरूसँग भेटघाट तथा छलफल गर्नुभएको हो ।
भारतीय प्रधानमन्त्री नेपाल आउने
प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताउनुभयो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भेटवार्ता सौहार्द्रपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन् । दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ताका क्रममा ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेट
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ । उहाँहरूबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाह भेटवार्ताका क्रममा । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा
नेपाल–भुटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल र भुटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो । उहाँहरूको भेट राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भुटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालले भुटानका लागि देखाएको सद्भाव प्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे भेटवार्ता । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा
नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुन सक्छ : भोल्कर टर्क
प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका छन् ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गरेका थिए । यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरेका थिए । प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्त्व दिनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओेली र राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क भेटवार्ताका क्रममा । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा
परराष्ट्रमन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन् । मन्त्री डा. राणाले आइतवार इन्डोनेशियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गरेको उनको सचिवालयले जनाएको छ ।
सो भेटमा नेपाल र इन्डोनेशियाबीचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कम गर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो । यसैगरी उनीहरूबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो ।
त्यसअवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री डा. राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका थिए । मन्त्री डा. राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएइन् ।
त्यसैगरी मन्त्री डा. राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस अवसरमा उनीहरूबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो । नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा. राणाले कुराकानी गरेकी थिइन् ।
त्यस्तै आइतवार नै परराष्ट्रमन्त्री डा. राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो । उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन् । भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरूका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।