नेपालमा पढेर जागीर पाइँदैन । निजी काम गर्न पनि वातावरण छैन । विश्वव्यापीकरणले गर्दा सबै सामान विदेशबाट आउँछ । उद्योग टिकाउन सकिँदैन । सामान बिकाउन सकिँदैन । यहाँ कुनै व्यापार, उद्योग गर्न सकिँदैन । आधारभूत आवश्यकताका वस्तुमा कार्टेलिङ छ । उच्च शिक्षा लिएको जनशक्ति विदेशिइरहेको छ । आज देशका लाखांै किशोरकिशोरी विदेश जाने ध्याउन्नमा आईईएलटीएस, जापानी, जर्मनी, कोरियन र चाइनिज भाषा पढिरहेका छन् । नेपालबाट प्रतिवर्ष ६० हजारदेखि १ लाखसम्म युवायुवती पढ्नका लागि विदेश गएको तथ्याङ्क शिक्षा मन्त्रालयसँग छ ।
लाखांै युवा केवल पढाइका लागि विदेश गएका छैनन् । उनीहरू पढाइपछिको आर्थिक सम्भावनाका पछि लागेर विदेश गइरहेका छन् । विद्यार्थीले पढाइपछि आर्थिक आर्जन, सफल र सबल जीवनस्तर र समृद्धिको खोजी गरिरहेको हुन्छ । नेपालमा त्यसको सम्भावना नदेखेकाले शैक्षिक पलायन तीव्ररूपमा बढी रहेको हो । यो रोक्न सक्ने योजना सरकारसँग छैन र यसतर्पm ध्यान गएको पनि छैन ।
विश्वको ९९ प्रतिशत मानव जातिले भौतिक सम्पन्नको जीवन खोजिरहेको हुन्छ, त्यसबाट नेपाली युवा पनि अछुतो रहन सक्दैनन् । त्यसका लागि आयस्रोत अनिवार्य हुन्छ । यस्तो आयस्रोत बढाउन रोजगारीका अवसरहरू खोजिनुपर्छ । नेपालमा पढेर रोजगारी पाउने सम्भावना निकै न्यून छ । किनकी नेपालमा प्रशासन, प्राविधिक, सेना, प्रहरी, स्वास्थ्य, कृषि आदि क्षेत्रमा वर्षभरमा १ हजारजति रोजागारी खुल्छ । शिक्षक, प्राध्यापकतिर केही सङ्ख्याले रोजगारी पाउँछनु । त्योबाहेक नेपालमा निजीक्षेत्रले एकातर्पm दक्ष जनशक्ति नपाएको गुनासो गर्छ भने अर्कोतर्पm त्यहाँ काम गरेका कोही पनि सन्तुष्ट भएको पाइँदैन । राम्रो श्रम व्यवस्थापन भएकै छैन ।
उद्यमशीलता र पेशासँग सम्बन्धित विषयमा युवा आकर्षित भएको पाइँदैन । ब्युटीपार्लरको सङ्ख्या बढेको छ, आम्दानी कम छ । नाईको काम गर्न शिक्षित युवाले अपमान महसूस गर्छ । केही युवा आधुनिक कृषिप्रणालीमा काम गरेको भन्ने कुरा रेडियो टेलिभिजनमा सुनिन्छ । यो औंला भाँचेर गन्न सकिने उद्यमशीलताले पनि शैक्षिक जनशक्तिको रोजगारीको मागलाई भरथेग गर्न सक्दैन । यस्तो अवस्थामा नेपाली युवा विदेशमा नगएसम्म रोजगारी पाउने र आफ्नो जीवनका आशाहरू परिपूर्ति गर्ने अवस्था देख्दैन र विदेशमा पढ्ने उतै जागीर गर्ने अभिलाषा राख्छ ।
गएको वर्ष विदेश पढ्न जानेमध्ये ३७ हजार ५ सय ५५ जना अष्ट्रेलिया गएका छन् भने १२ हजार ५ सय २५ जना जापान गएका छन् । त्यस्तै २ हजार ७३ जना अमेरिका र २ भन्दा बढी चीन गएका छन् । विद्यार्थी विशेषगरी त्यस्तो देशमा पढ्न जान चाहन्छन् जहाँ पढाइको खर्च उठाउन सकियोस् र पछि जागीर तथा पीआर पाउन सजिलो होस् । अष्ट्रेलिया पहिलो गन्तव्य हुनुको कारण पनि यही हो ।
नेपालमा बसेर सानातिना काम गर्ने हो भने धेरैले कुरा काट्ने, फलानाकी छोरीले यस्तो काम गरी त चिलानाको छोराले उस्तो काम गर्यो भन्ने हल्ला हुन्छ । विदेशमा जस्तो काम गरेप नि कसैले देख्दैन र सार्वजनिक ठाउँमा आउँदा टाईकोट झल्काए भयो । अरूबेला आफ्नो क्षमताअनुसार जस्तो पाइन्छ त्यस्तै काम गर्दा पनि कसैले टीकाटिप्पणी गर्दैनन् । त्यसैले युवावर्गबाहिर आकर्षित भएको हो । राम्रो नराम्रो आफ्नो पक्ष होला । तर, अहिलेका युवा यति सारो विदेश पलायन हुनुमा सामाजिक सास्कृतिक जञ्जाल पनि हो ।
जीवनको अधिकांश समय सासू, ससुरा, जेठाजु अमाजू, देउरानी, नन्द, फुपू, फुपाजु, सालो, सालीलगायतको अनावश्यक जालोबाट उम्किन पनि युवा विदेश जान चाहेका हुन सक्छन् । यसबाहेक सांस्कृतिक र प्रथागत झन्झटलाई पनि थेग्न नसकेको हो कि युवा पुस्ताले ? यस विषयमा पनि अध्ययन हुन जरुरी छ ।
लाखौं युवा पढ्न विदेश जाने र उतै बस्ने गरेको धेरै पहिलादेखि हो । यसलाई तत्काल रोक्न सक्ने सम्भावना पनि निकै कम छ । विकसित विदेशी मुलुकमा जनसङ्ख्या वृद्धिदर निकै कम छ । नेपाली शिक्षार्थीले त्यहाँ जस्तो पनि काम गरिदिन्छन् । यस्तो युवा जनशक्ति उनीहरूलाई चाहिएको हुन्छ । त्यसैले सामान्य रूपमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर यो युवा प्रवाह रोक्न कठिन छ । जबसम्म नेपालमा भन्दा विदेशमा आयआर्जन बढी हुन्छ, जीवनपद्धति सहज हुन्छ, वातावरण स्वस्थ हुन्छ, जीवनको सुरक्षा हुन्छ, युवा विदेश जान रोकिँदैन ।
यसै कारण नेपालले जुनसुकै मूल्यमा पनि देशको आम्दानी बढाउन सक्नुपर्छ । पर्यटन, जल र जडीबुटीको माध्यमबाट आम्दानी बढाउन सकिन्छ । भ्रष्टाचार र कुशासन अन्त्यको अभियानबाट देशलाई पूर्णरूपमा आयसमृद्ध नबनाउँदासम्म यो अध्ययन पलायनलाई रोक्न सम्भव छैन । सम्म छोडेर भिरालोमा, राम्रो व्यवस्था छोडेर अव्यवस्थामा, स्वतन्त्रता छोडेर बन्धनमा कोही पनि बस्न चाहँदैन । त्यसैले युवालाई रोक्ने प्रयासभन्दा देशलाई रोकिनलायक बनाउनु आजको आवश्यकता हो ।
देशमा आज राजनीतिक पुनःसंरचना भन्दा आर्थिक तथा शैक्षिक पुनःसंरचनाको खाँचो छ । त्यसैले अब पुरातनपन्थी टालटुले तरीकाबाट नभई फरक तरीकाबाट देशको विकास गर्न जरुरी छ । अब पर्यटन तथा मनोरञ्जनमा वैदेशिक लगानी, उद्योग र व्यापारमा निजी लगानी, शिक्षामा चक्रीय लगानी अर्थात् सरकारको बढी हस्तक्षेपजस्ता नयाँ आर्थिक आयाम थपेर व्यापक रोजगारीका सम्भावना खोल्न सकेमात्र नेपाली युवा नेपालमा रमाउने छन् ।
नेपालमा सरकार बलियो बन्दा पनि सोचगत परिवर्तन भएको छैन । जबसम्म यो हुँदैन नेपालको अथाह रूपमा बहिर्गमन भएको शैक्षिक पूँजी रोकिने सँभावना छैन । अझ डरलाग्दो अवस्था के छ भने नेपाली युवाको जवानी विदेशमा खर्चिनेछ र बुढेसकाल लागेपछि उनीहरू जवान छोराछोरी विदेशमा छोडेर बूढोपन, रोग र अमिल्दो संस्कृति लिएर नेपाल आउनेछन्, नेपालको अवस्था जस्ताको तस्तै रहनेछ ।
लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।