राजेशमान के.सी.
प्रतिभा पलायन भन्नाले सामान्यतया एक मुलुकबाट अर्को मुलुकमा हुने बौद्धिक बसाइँसराइलाई लिन सकिन्छ । यसलाई अझ स्पष्ट रूपमा भन्ने हो भने विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा हुने दक्ष जनशक्तिको बसाइँसराइलाई प्रतिभा पलायनका रूपमा लिन सकिन्छ । साँच्चै भन्ने हो भने विकसित मुलुकहरूले विकासोन्मुख मुलुकबाट हुने प्रतिभा पलायनबाट दक्ष र बौद्धिक क्षमतावान् व्यक्तिहरू लिएर विकासोन्मुख मुलुकमा एक प्रकारको ठूलो आर्थिक–सामाजिक समस्या नै खडा गरिदिएका छन् भन्दा फरक पर्दैन ।
प्रतिभा पलायनको कुरा गर्दा खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड र बेलायतजस्ता मुलुकले अहिले विश्वभरिबाट दक्ष र शीपयुक्त व्यक्तिहरूलाई बसाइँसराइका लािग विभिन्न आर्थिक र अन्य अवसर प्रदान गर्दै आइरहेका छन् । त्यसमा पनि संयुक्त राज्य अमेरिका धेरै लामो समयदेखि बसाइँसराइ ग्रहण गर्ने सबैभन्दा ठूलो मुलुक बन्न पुगेको छ । अमेरिकाले हरेक वर्ष करीब ५० हजार मानिस विश्वभरिबाट सांस्कृतिक आयातको नाममा ग्रहण गर्ने गर्छ, जसमा नेपाल पनि पर्छ । यो छनोट डाइभरसिटी भिसा अर्थात् डीभी छनोटको नाममा गर्ने गरिन्छ, जुन यस वर्ष पनि शुरू भइसकेको छ । तथापि डीभी चिट्ठा भनी नामकरण गरिए तापनि मूलरूपमा यो चिट्ठाकै आधारमा खोलिने र आप्mनो भाग्य चम्काउने खेल भने होइन । यस प्रक्रियाअन्तर्गत छनोट भएका सबै व्यक्तिले अमेरिका जाने अनुमति प्राप्त गर्छन् भन्ने होइन । डीभी चिट्ठा परिसकेका कतिपय नेपाली दाजुभाइ तथा दिदीबहिनी अमेरिका जान नपाई आफ्नो भएको ऋण धन पनि गुमाएर पुर्पुरोमा हात राखेर बस्नु परेका उदाहरण धेरै छन् । यसरी डीभी चिट्ठा परिसकेका व्यक्तिलाई पनि आवश्यक सबै प्रकारको पूर्वाधार पूरा भइसकेपछि मात्र अमेरिकी दूतावासले अन्तर्वार्ता लिने गर्छ र यदि त्यो व्यक्ति उनीहरूको आवश्यकताअनुरूप छ भन्ने उनीहरूलाई लागेपछि मात्र त्यस्ता व्यक्तिले डीभी चिट्ठामार्फत अमेरिका जाने अनुमति पाउँछ । त्यसैले यो प्रक्रियालाई पनि एक किसिमले प्रतिभा पलायनकै रूपमा लिन सकिन्छ ।
त्यसो त मानिसहरू स्वभावतः आफ्नो आर्थिक समृद्धि र गुणस्तरीय जीवनयापनको खोजीमा हुन्छन् । तर, जब उनीहरू गुणस्तरीय जीवनयापनका लागि आर्थिक उपार्जनका निमित्त आफ्नो मुलुकमा उपयुक्त वातावरण पाउँदैनन्, देशमा राजनीतिक अस्थिरता कायम रहिरहन्छ तब उनीहरू विदेशी भूमिमा बसाइ सर्न उत्प्रेरित हुन्छन् । त्यस्तै जब सिङ्गो मुलुक आन्तरिक द्वन्द्वमा फस्छ र यसबाट खासगरी निम्न र मध्यम वर्गका मानिसहरू उत्पीडित हुन पुग्छन् । आफ्नो दैनिक जीवनयापन र शान्तिसुरक्षाजस्ता आधारभूत मानवीय कुराहरू समेत गौण बन्न पुग्छन् । यस्तो अवस्थामा प्रतिभा पलायनले तीव्ररूप लिन थाल्छ । त्यसो त पश्चिमा मुलुकहरूको रहनसहन र मूल्यमान्यताको अन्धानुकरण गर्नु पनि प्रतिभा पलायनको एउटा प्रमुख कारण हो भन्न सकिन्छ ।
यसरी कतिपय व्यक्तिहरू पश्चिमा मुलुकको जीवनशैली, उनीहरूको शिक्षा प्रणालीबाट अनि विज्ञान र प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिबाट प्रभावित हुन पुग्छन्, जसले गर्दा उनीहरू पश्चिमा मुलुकमा बसाइँसराइका लागि लालायित हुन पुग्छन् । त्यस्तै कतिपय विकसित मुलुकले छात्रवृत्ति, अनुदान, तालीम र सांस्कृतिक आदानप्रदान आदिको सुविधा पनि प्रदान गर्ने गर्छन् । यसबाट दक्ष जनशक्ति विकसित मुलुकमा पलायन हुन पुग्छ, जसको परिणामस्वरूप विकसित मुलुकहरू झन्झन् सम्पन्न हुँदै जान्छन् भने हाम्रोजस्ता गरीब मुलुकहरू पछाडिको पछाडि नै पर्छन् । हामी वर्षेनि १ अर्ब रुपैयाँ खाडी मुलुकमा काम गर्ने नेपाली कामदारबाट स्वदेशमा विप्रेषणका रूपमा भिœयाउँदा दङ्ग पर्छौं । तर, आफ्नै मुलुकमा दिनप्रतिदिन बढ्दै गएको दक्ष र तालीमप्राप्त जनशक्तिको अभावतर्फ भने आँखा चिम्लेझैं गरेर बस्छौं । यो अत्यन्त विडम्बनापूर्ण कुरा हो ।
हाम्रो जस्तो गरीब र विकासोन्मुख मुलुकका शिक्षित युवा समुदायले पश्चिमा मुलुकहरूबाट छात्रवृत्ति र अनुदानको रूपमा अवसर प्राप्त गर्नु नराम्रो कुरा होइन । यसबाट त्यस्ता गरीब र जेहनदार नेपाली युवाले आफ्नो वृत्तिविकास गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गर्छन् । तर, यसलाई सकारात्मक रूपमा तब मात्र लिन सकिन्छ जब उसले विकसित मुलुकबाट आफूले सिकेको शीप, ज्ञान र प्रविधिपछि आफ्नै मुलुकमा उपयोग गर्छ र देशलाई समुन्नत तुल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँछ । तर, वास्तविकता त्यस्तो देखिएको छैन । उच्च शिक्षा र प्रविधि प्राप्त गर्न भनी बाहिरी मुलुकमा त ऊ पुग्छ तर जब ऊ पश्चिमी जीवनशैलीबाट विस्तारै प्रभावित हुँदै जान्छ र त्यहाँको खुला संस्कृति र रहनसहनबाट आकर्षित हुन थाल्छ तब उसलाई आफू जन्मे हुर्केको समाजप्रति नै वितृष्णा उत्पन्न हुन थाल्छ र अन्ततः ऊ स्थायी रूपमा त्यहीँ बसोवास गर्ने निचोडमा पुग्छ ।
यी र यस्ता अन्य कतिपय कारणले प्रतिभा पलायन आज हाम्रोजस्तो गरीब र विकासोन्मुख मुलुकका लागि टाउको दुखाइकै विषय बनिरहेको छ । एक जानकारीअनुसार अहिले भारतलगायत अन्य खाडी मुलुकमा मात्र झण्डै ३५ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । दैनिक १ हजार ५ सयदेखि २ हजार युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । हुन त उनीहरूले पठाएको विप्रेषणबाट हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई केही हदसम्म धानिराखेको पनि छ । नेपाली कामदारले पठाउने विप्रेषणलाई नेपली अर्थतन्त्रको एउटा महत्त्वपूर्ण टेवाको रूपमा पनि लिने गरिएको छ । तर, यसबाट राष्ट्रको समग्र आर्थिक सामाजिक जीवनमा परेको प्रतिकूल असरतर्फ हाम्रो ध्यान पुगेको छैन ।
प्रतिभा पलायनको यो समस्यालाई बेलैमा यदि सम्बोधन नगर्ने हो भने देशमा हालै गएको विनाशकारी भूकम्पपछि युद्धस्तरमा पुनर्निर्माणको कार्यमा जुट्नुपर्ने हाम्रो जस्तो मुलुकले ठूलो आर्थिक–सामाजिक र दक्ष जनशक्ति अभावको समस्या झेल्नुपर्ने कुरालाई नकार्न सकिन्न । निश्चय पनि प्रतिभा पलायनको एउटा महत्त्वपूर्ण कारकतत्त्व भनेको हाम्रो विद्यमान त्रुटिपूर्ण शैक्षिक प्रणाली नै हो । यसले शैक्षिक बेरोजगारहरूको सङ्ख्या मात्र बढाइरहेको छ । तर, राष्ट्रको माग र आवश्यकतालाई परिपूर्ति गर्ने किसिमको प्राविधिक–व्यावसायिक अथवा शीपमूलक शिक्षाको विकासमा यथेष्ट ध्यान दिन सकिरहेको छैन । त्यसपछि अन्य कारकतŒवका बारेमा भन्नुपर्दा प्रतिभाहरूको उचित कदर र पहिचान हुन नसक्नु अनि दक्ष र तालीम प्राप्त व्यक्तिहरूले समेत उपयुक्त रोजगारको अवसर प्राप्त गर्न नसकी सडक गल्लीमा भौंतारिरहनु पर्ने अवस्था पनि हो ।
यी र यस्ता समस्यातर्फ केन्द्रित रही कृषिमा आधुनिकीकरण, निजीक्षेत्रको सहयोग र सहकार्यमा वातावरणमैत्री उद्योगहरूको विकास, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड र महिला, अपाङ्ग, दलित एवम् उत्पीडितहरूको उचित शिक्षा र शीपमूलक तालीमको व्यवस्था तथा रोजगारीमा जोड दिनुपर्ने खाँचो देखिएको छ । राज्यले यसतर्फ बेलैमा ध्यान नपुर्याउने हो भने देशको स्थिति झन्झन् भयावह बन्दै जाने र मुलुकले जटिल आर्थिक–सामाजिक समस्या निम्तिई सिङ्गो मुलुक पुनः अर्को द्वन्द्वमा धकेलिन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
लेखक दृष्टिविहीन अभिभावक सङ्घ नेपालका अध्यक्ष हुन् ।