काठमाडौं। सन् २०२४ पहिलो महीनामा नेपाल आउने पर्यटक संख्या बढेको छ । सन् २०२३ को जनवरीको तुलनामा यसपालि पर्यटक आगमन ३० दशमलव ३७ प्रतिशतले बढेको हो ।
पोहोर जनवरीमा ५५ हजार ७४ पर्यटक आएकामा यसपालि उक्त संख्या ७९ हजार १०० पुगेको छ । कोभिड–१९ कम भएर सामान्य अवस्था आएसँगै सन् २०२३ देखि नै नेपालमा पर्यटक आगमन बढेको हो । नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष चीनबाट आउने पर्यटकको संख्या दोस्रो स्थानमा छ । कोरोनाकालमा न्यून र सन् २०२३ मा तेस्रो स्थानमा उक्लिएको चिनियाँ पर्यटक आगमन यो वर्षको शुरू महीनामै सामान्य अवस्थामा जस्तै दोस्रो स्थानमा उक्लिएको हो ।
नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । सन् २०२३ मा भारतपछि बढी पर्यटक अमेरिकाबाट आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत जनवरीमा भारतबाट २४ हजार १३९ र चीनबाट ७ हजार २६७ पर्यटक नेपाल आएका छन् । यस्तै तेस्रोमा अमेरिकाबाट ७ हजार ४७, थाइल्यान्डबाट ४ हजार ६१९ पर्यटक आएको तथ्यांक छ । नेपालमा धेरै पर्यटन आउने १० भारत, चीन, अमेरिका, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, अस्ट्रेलिया, बेलायत, भुटान र जापान छन् ।