काठमाडौं । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा पर्यटक आगमनमा क्रमिक सुधार देखिएको छ । तथ्यांक अनुसार सन २०२३ अक्टोबर महिनाको तुलनामा सन २०२४ को अक्टोबरमा पर्यटक आगमन दर ६.०४ प्रतिशतले बढेको छ । २०२३ अक्टोबर महिनामा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल आएका थिए भने ०२४ को सोहि महिनामा १ लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका छन् ।
सन २०१९ सम्म राम्रो लयमा रहेको नेपालको पर्यटक आगमन दर २०२० को शुरूआत देखि घटेको थियो । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विश्वव्यापी फैलिएको कोभिड १९ संक्रमणका कारण घटेको पर्यटक आगमन अझै सोही लयमा फर्कन सकेको छैन । तर पछिल्लो समय यसमा क्रमिक सुधार भइरहेको छ ।
यो वृद्धिसँगै सन् २०२४ को पहिलो १० महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख ४० हजार नाघेको छ । गत वर्ष चार वर्षमा पहिलो पटक १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए । यसअघि सन् २०१८ मा ११ लाख ७० हजार र सन् २०१९ मा ११ लाख ९० हजार विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सन् २०२० को शुरुमा विश्वका विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाएपछि सन् २०२० को अक्टोबरमा नेपालमा पर्यटकको आगमन घटेर २ हजार २५ मा झरेको थियो ।
तर, त्यसपछिका वर्षहरूमा यो संख्यामा निरन्तर सुधार हुँदै सन् २०२१ को अक्टोबरमा २३ हजार ३३८ र को २०२२ अक्टोबर मा ८८ हजार ५८२ पुगेको थियो। महामारीको तुलनामा पर्यटन आगमन दर ९२.७६ प्रतिशतले रिकभरी भएको छ ।
नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक १६ हजार ३सय १३ अर्थात् १३ दशमलव ११ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १६ हजार २३ (१२.८८ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी बेलायतबाट ८ हजार १९, चिनियाँ ७ हजार ७५० र अष्ट्रेलियाका ६ हजार ९२९ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै जर्मनी, फ्रान्स, बङ्गलादेश, श्रीलङ्का र इटालीले क्रमशः ४.८४ प्रतिशत, ४.४१ प्रतिशत, ३.६ प्रतिशत, २.५१ प्रतिशत र २.१२ प्रतिशत पर्यटक भित्रिएका छन् ।