नेपालमा उत्पादनमूलक उद्योगमा प्रतिस्पर्धी क्षमता कम छ भन्ने भाष्य अर्थविद्हरूबीच पाइए पनि विदेशी लगानीका उत्पादनमूलक उद्योगहरूले उच्च दरमा मुनाफा फिर्ता लगेको पाइन्छ । यसले उत्पादनमूलक उद्योगको सम्भावनालाई देखाउँछ । तर, सँगसँगै अर्को प्रश्न पनि उठाउँछ, ती मुनाफा फिर्ता लैजाने कम्पनीले नेपालमा थप लगानी किन गरेनन् ? नेपालमा वैदेशिक लगानी किन आएन भन्ने प्रश्नको उत्तर पनि यही प्रश्नको उत्तरले दिन सक्छ । उत्पादनमूलक उद्योगले आर्थिक वर्ष (आव) २०७८/७९ मा ८ अर्ब ६३ करोड मुनाफा फिर्ता लगेकामा २०७९/८० मा ८ अर्ब ८० करोड मुनाफा लगेको देखिन्छ । त्यसैगरी २०८१/८१ मा त्यो बढेर ९ अर्ब ३४ करोड बराबर पुगेको छ । सरकारले कृषि तथा वन, सेवा, पर्यटन, खनिज, पूर्वाधार, ऊर्जा, आईसीटी, उत्पादनमूलक क्षेत्रमा गरी लगानी फिर्ताको तथ्यांक देखाएको छ । यिनमा उत्पादनमूलक क्षेत्रको लाभांश सर्वाधिक देखिएको हो । यो तथ्यांक हेर्दा नेपालमा वैदेशिक लगानी आकर्षित हुनुपर्ने हो । लगानी गरिरहेकाहरूले पनि लगानी थप्नुपर्ने हो । तर, त्यसो भएको छैन ।
विगतमा भन्दा अहिले लगानीका लागि नेपाल बढी उपयुक्त देखिन्छ । विगतमा जस्तो अहिले मजदूर–उद्योगको तिक्ततापूर्ण सम्बन्ध छैन । लगानीसम्बन्धी कानूनहरूमा पनि निकै सुधार गरिएको छ । लगानीका लागि एकद्वार प्रणाली लागू भएको छ । लोडशेडिङको समस्या पनि हटेको छ । तर पनि लगानी विस्तार वा थप वैदेशिक लगानी नआउनुमा कानून कार्यान्वयनमा समस्या छ भन्ने देखाउँछ । नेपालमा लगानी गरिरहेका कम्पनीहरूले लगानी नगर्नुको कारण लगानीका लागि अवरोध सृजना हुनु नै हो । कुनै कम्पनीले मुनाफा बाँडेर पनि ठूलो रकम सञ्चित कोषमा राखेको हुन्छ । त्यो सञ्चित कोषमा रहेको रकम पुनर्लगानी गर्न समस्या भएको उद्योगीको गुनासो पाइन्छ । डाबर नेपालले सञ्चित कोषबाट १० अर्ब लगानी थप्ने योजना बनाएको थियो । तर, लगानी बोर्डले २ बर्षसम्म स्वीकृति दिएन । यो एउटा उदाहरण हो । यस्तो अवरोध नै पुनर्लगानी नहुनुको कारण हो । अहिले वैदेशिक लगानीका लागि निकै सहज कानुन बनाइएको छ तर कार्यान्वयन तहमा समस्या देखिएको छ । लगानी फिर्ता लैजानमा पनि पहिलाको तुलनामा सहज व्यवस्था छ । कानूनी लडाइँमा रहेको केही कम्पनीबाहेक अन्य विदेशी लगानीका कम्पनीहरूले लाभांश फिर्ता लैजान पाइन वा सकिन भनेर गुनासो गरेको खासै देखिँदैन । यद्यपि सरकारी अधिकारीहरूले विभिन्न बहाना गरेर झुुलाउने गरेको भने पाइन्छ ।
नेपालको श्रमसम्बन्धी कानूनमा केही सुधार गर्न भने आवश्यक देखिन्छ । अहिले श्रमिकको हकहितका लागि सामाजिक सुरक्षा, न्यूनतम ज्याला आदिको स्पष्ट व्यवस्था गरिएको छ । श्रमिकका दृष्टिकोणबाट त्यो सही नै हो तर उद्योगहरूका लागि भने कतिपय अवस्था यस्तो नियम कार्यान्वयनमा समस्या हुन्छ । मौसमी कामदार राख्न कानूनी रूपमा समस्या छ । त्यस्तै विदेशतिर घण्टा, दैनिक वा हप्ताका आधारमा काममा लगाउन पाइन्छ । सरकारले तोकिदिएको न्यूनतम पारिश्रमिकमा यसरी काममा लगाउँदा मौसमी उद्योगहरूलाई सहज हुन्छ । तर, नेपालको कानूनले यस्तो सुविधा दिएको छैन । यस्तो व्यवस्था भएमा उद्यमी व्यवसायीलाई पनि सहज हुन्छ र युवा विद्यार्थीलाई पनि यसले सहयोग गर्छ । मुख्य कुरा समग्रमा नेपालमा लगानीको वातावरण बनाउन आवश्यक छ । वातावरण नबन्नुमा कागजी वातावरण उपयुक्त भए पनि कार्यान्वयन तहमा अनेक समस्या निम्त्याउनु हो । राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्म कानून कार्यान्वयनमा छिद्र खोजेर लगानीकर्ता अलमल्याउने र व्यक्तिगत स्वार्थ हेर्नेसम्मको प्रवृत्ति पाइन्छ । ठूला लगानीको उद्योगमा त कमिशन नलिई कामै नगरिदिने प्रवृत्ति राजनीतिक र कर्मचारीको उपल्लो तहमा देखिन्छ । त्यसो त कतिपय अवस्थामा नेपाली व्यवसायीहरूको स्वार्थमा समस्या परेको अवस्थामा लगानी भित्त्याउन नदिन व्यवसायीले ने लबिङ गरेको पनि पाइन्छ । कार्यान्वयन पक्षका यी समस्या नहटेसम्म जति नै मुनाफा आए पनि लगानीकर्ता लगानी गर्न अघि सर्दैनन् ।