काठमाडौं । पूँजी बजारमा आएको उतारचढावको असर उक्त बजारबाट सरकारले उठाउने पूँजीगत लाभकरमा देखिएको छ ।
चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पछिल्लो ४ महीना पूँजी बजार स्थायित्वतिर गएपछि यो समयमा सरकारले पूँजीगत लाभकर अघिल्ला महीनाहरूको तुलनामा राम्रो संकलन गरेको सरकारी तथ्यांकले देखाउँछ ।
सरकारले चालू आवको पहिलो ९ महीनामा ३ अर्ब ७९ करोड पूँजीगत लाभकर उठाएकोमा पछिल्लो ४ महीनामा मात्रै त्यसको करीब ७० प्रतिशत संकलन गरेको धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएसी) ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
मासिक रूपमा तुलना गर्दा चालू आवको माघमा ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । यो अन्य महीनाको तुलनामा बढी हो । सोही महीना नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार २०० बिन्दुमाथि पुगेको थियो ।
त्यसअघि पुसमा पनि सरकारले आकर्षक लाभकर संकलन गरेको छ । सीडीएसीका अनुसार पुसमा ७४ करोड ३९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पुसमा पूँजी बजार परिसूचक १ हजार ९९४ दशमलव ६० बिन्दुबाट बढेर बजार २ हजार २२१ बिन्दुभन्दा माथि पुगेको थियो ।
पुसको बढ्दो गतिलाई पछ्याउँदै माघको शुरुआती कारोबारमा सकारात्मक बन्दै बजार २ हजार २१५ बिन्दुसम्म पुगेको तथ्यांक छ । पुस र माघमा उतारचढावबीच पनि बजार सकारात्मक गतिमै रहेकाले लगानीकर्ताले नाफामा कारोबार गरेका हुन् ।
पछिल्लो २ महीना भने पूँजीगत लाभकर अघिल्ला २ महीनाको भन्दा कम रहेको छ । फागुनमा ४४ करोड ९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा चैतमा ४८ करोड ३४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो । अघिल्ला २ महीनाको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत कमी आएकाले पूँजीगत लाभकर घट्न पुगेको हो ।
पुसमा ९७ अर्ब रुपैयाँभन्दा बढीको र माघमा ३ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । फागुनमा ६१ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी र चैतमा ५९ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । चैतको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार २५ दशमलव ७० बिन्दुमा बन्द भएको थियो । चालू आवका शुरुआती महीनामा भने पूँजीगत लाभकर कम संकलन भएको छ । कात्तिकमा त ८ करोड ४१ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
हालको कानूनी व्यवस्थाअनुसार धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ ।
सरकारले व्यक्तिगत लगानीकर्तालाई दीर्घकालीन र अल्पकालीन गरी दुई वर्गमा विभाजन गरेको छ । एक वर्षभन्दा बढी धितोपत्र कायम राख्ने लगानीकर्तालाई दीर्घकालीन र एक वर्षभन्दा कम कायम राख्नेलाई अल्पकालीनमा वर्गीकरण गरिएको छ । सरकारले अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकर तोकेको छ ।
सीडीएसीका अनुुसार चालू आवको ९ महीनामा संस्थागत लगानीकर्ताबाट ४५ करोड ३८ लाख ८७ हजार रुपैयाँभन्दा बढी र व्यक्तिगतबाट ३ अर्ब ३३ करोड ६४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो ।
सरकारले पूँजी बजारबाट मासिक करोडौं रुपैयाँ कर संकलन गरिरहँदा लगानीकर्ताले यसमा लगाइएको पूँजीगत लाभकर बढी भएको बताइरहेका छन् । उनीहरूले करका दर घटाउन सुझाव दिँदै पनि आएका छन् । ‘संस्थागत लगानीकर्तालाई पूँजीबजारमा आकर्षित गर्न लाभकरमा छूटको व्यवस्था हुनुपर्छ,’ शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने, ‘व्यक्तिगत लगानीकर्ताको हकमा भने अल्पकालीनका लागि ५ र दीर्घकालीनका लागि ३ प्रतिशत लाभकर कायम गर्नुपर्छ ।’
नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साल साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लागानी विक्रीबाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । हालको व्यवस्थामा लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने हुन्छ । लगानीकर्ता र अर्थ मन्त्रालयबीच नाफामा धितोपत्र विक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।