अघिल्लो हप्ता भएको ठूलो वर्षाले सडक पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो । क्षति पुगेको बीपी राजमार्ग अस्थायी रूपमा समेत अझै सञ्चालनमा आउन सकेको छैन । अन्य धेरै राजमार्गमा क्षति पुगेको छ । सरकारले २ अर्बको क्षति पुगेको बताएको छ । तर, त्यसको पुनर्निर्माणका लागि भने कयौं गुणा बढी रकम लाग्ने देखिन्छ । यस्तो क्षति नेपालमा पहिलोपटक भएको होइन । गतवर्ष हिमताल फुट्दा मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्यायो । यसको भविष्य अझै अनिश्चित छ । जलविद्युत् आयोजनाहरूमा वर्षेनि क्षति भइरहेको छ । यस्तो क्षति भइरहने हो र तिनको पुनर्निर्माणमा नै वर्षौं लागिरहने र अर्बौं खर्चिरहनुपर्ने हो भने नेपालको कमजोर पूर्वाधार शीघ्र आर्थिक विकासका लागि बाधक रहिनै रहनेछ । त्यसैले पूर्वाधार निर्माणमा अब केही फरक तरीकाले सोच्न आवश्यक छ जसका लागि विशेष अनुसन्धान जरुरी देखिएको छ । नेपाल विश्वमै प्राकृतिक विपद्को उच्च जोखिम रहेको मुलुकमा पर्छ । प्राकृतिक विपद्ले पुर्याउने मानवीय क्षति अलग छ । त्यसबाहेक भौतिक निर्माणमा पुर्याउने क्षति झनै भयावह देखिन्छ । नेपालमा वर्षेनि अबौं रुपैयाँको नोक्सानी हुने गरेको छ । खासगरी बाढीपहिरो ठूलो समस्या छ । त्यस्तै अहिले नेपालको हिमताल अर्को ठूलो समस्या हो । उत्तरी हिमालमा नयाँनयाँ हिमताल बनेको र बढ्दो विश्व तापमानका कारण ती कुनै पनि बेला विस्फोट हुने खतरा रहेको छ ।
अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानसम्म फैलिएको ३ हजार ५०० किलोमीटरभन्दा लामो हिन्दू कुश हिमाल पर्वतमालामा रहेकामध्ये ४७ ओटा हिमताल कुनै पनि बेला फुट्ने अवस्थामा रहेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । जोखिमयुक्त मानिएका तीमध्ये २१ ओटा हिमताल नेपालमा पहिचान भएका छन् । बाँकी २५ ओटा जोखिमपूर्ण हिमताल चीनको स्वशासित क्षेत्र तिब्बतमा र एउटा भारतमा रहेको इसिमोड र यूएनडीपी नेपालले गरेको अध्ययनमा उल्लेख छ । गतवर्ष केही साना हिमताल विस्फोट भएको र हिमपहिरो आउँदो ठूलो क्षति भएको थियो । यसको सम्बन्ध सीधै विश्व जलवायु परिवर्तनसँग छ । त्यसैले हिमनदीलाई आधार मानेर बनाइएको जलविद्युत् आयोजनाहरू, नदीका किनारैकिनार बनाइएको सडक, र सडक छेउछाउ विकास हुँदै गएका बस्ती निकै जोखिममा छन् । हिमताल र हिमपहिराले प्रभावित पार्न सक्ने क्षतिबारे पर्याप्त अध्ययन भएका छैनन् र त्यसअनुसार पूर्वाधार निर्माणमा ध्यान दिइएको छैन । त्यसैले अब पूर्वाधार निर्माण गर्दा यी पक्षबारे अनुसन्धान गरिनुपर्छ । इसिमोड वा अन्य कुनै अनुसन्धान संस्थाबाट यहाँको भूगोल र पूर्वाधार निर्माणबारे अनुसन्धान गराइनुपर्छ । दुर्भाग्यवश नेपालमा अनुसन्धानमा लगानी निकै कम हुने गरेको छ ।
त्यसैगरी अहिले जुन मोडलमा सडक बनेका छन् तिनमा पनि अनुसन्धान गराइनु आवश्यक छ । सडकमा वर्षेनि पहिरो गइरहेको छ र मानवीय तथा भौतिक क्षति भइरहेको छ । यसको अर्थ अहिले जस्तो आधारमा सडक संरचना बनेका छन् त्यो उपयुक्त छैन भन्ने हो । प्राकृतिक विपत्ति विश्वभरि नै आउँछ । तर, विकसित देशहरूमा भने नियमित क्षति भइरहने जोखिम भने ज्यादै कम छ । कमजोर माटो खोस्रेर र डोजर चलाएर त्यसलाई झनै कमजोर बनाउने काम भएको छ । अर्को, क्रशर उद्योग र ढुंगागिट्टी उत्खननले पनि समस्या थपेको छ । रोशी खोलामा आएको बाढीभन्दा पनि बाढीमा मिसिएको ग्रेग्यानका कारण बस्तीहरूमा बढी क्षति भएको स्थानीयको आरोप छ । त्यस्तै चुरेक्षेत्रको दोहनले खानेपानीको मुहान सुकेर पानी पाइएन भनी त्यहाँका स्थानीयले काठमाडौंमा प्रदर्शन पनि गरे । यसको पनि वैज्ञानिक अनुसन्धान जरुरी छ । यसका लागि यी विषयका विज्ञहरू उत्पादन गर्न दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कातिर सरकारले यी विकासका गतिविधिले पार्ने असर र दिगो पूर्वाधार निर्माणका लागि पनि अनुसन्धान गराउनु आवश्यक छ ।