काँकडभिट्टा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालू आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनामा रु ४ करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतलता प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।
विगत १० महिनामा सबैभन्दा बढी चैतमा रु १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालू आवको पहिलो महिना साउनमा रु ६० लाख ५० हजार मूल्य बराबरको २ लाख ३० हजार ८५० केजी, भदौमा रु ४८ लाख ९८ हजार मूल्य बराबरको १ लाख ८६ हजार १४० केजी, असोजमा रु ३७ लाख २९ हजार मूल्य बराबरको १ लाख ४१ हजार ४५० केजी, कात्तिकमा रु २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा रु १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा रु १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।
त्यसैगरी, माघमा रु २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा रु ४४ लाख ८८ हजार मूल्य बराबरको १ लाख ७३ हजार ७८९ केजी, चैतमा रु १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २३० केजी र वैशाखमा रु ६५ लाख ८६ हजार मूल्य बराबरको २ लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।
केही वर्षयता झापामा व्यावसायिक खरबुजा खेती हुने गरेको छ । तर नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर विक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आएका छन् । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो । रासस