स्वैच्छिक अवकाश रोजेका तत्कालीन नेकपा माओवादीका लडाकु १५ हजार ४ सय २९ मध्ये ९० प्रतिशतभन्दा बढी स्वरोजगार भएको समाचारले सबैलाई हर्षित बनाएको छ । सेना समायोजन त्यागेर स्वैच्छिक अवकाश रोजेका लडाकूलाई समाजमा प्रतिस्थापन हुन असहज हुने हो कि भन्ने जुन राष्ट्रिय चिन्ता थियो, पूर्वलडाकूहरूले उद्यमशीलता अपनाएर त्यो चिन्तालाई खुशीमा बदलिदिएका छन् ।
यससँगै स्वैच्छिक अवकाशबाट प्राप्त रकम पूर्वलडाकूहरूबाट दुरुपयोग भई असामाजिक क्रियाकलापमा प्रयोग होला कि भन्ने चिन्ताबाट समेत समाज मुक्त भएको छ । स्वैच्छिक अवकाशसँगै सरकारबाट प्राप्त रकमलाई उद्योग व्यवसायमा लगाएर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत पूर्वलडाकूले योगदान पुर्याएका छन् भन्दा अतिशयोक्ति हुनेछैन ।
अवकाश रोजेका लडाकूमध्ये ५० प्रतिशतले घरजग्गा जोडेर त्यसैलाई धितो राखी बैङ्कबाट ऋण लिएर किराना पसल चलाइरहेको पाइएको छ । बाँकी ५० प्रतिशतमध्ये ४० प्रतिशतले कस्मेटिक, फेन्सी, हार्डवेयर, व्यावसायिक पशुपालन र कृषि व्यवसाय गरिरहेका छन् भने ५ प्रतिशतले लगानी गर्ने क्षेत्र पहिचान गर्न नसकी बैंकमै रकम राखेका छन् ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ६७, आइतवार १० मङ्सिर, २०६९