काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदका लागि मंगलवार (आज) भएको मतदानमा दाहाल निर्वाचित भएका हुन् ।
बैठकमा उपस्थित ५६ सांसदमध्ये दाहालको पक्षमा ३९ सांसदले हस्ताक्षर गरेका थिए । यो संख्या राष्ट्रिय सभाको कुल सदस्य संख्याको बहुमत रहेको भन्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले दाहाल अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिन् ।
दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा भने १७ मत परेको थियो । ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल कायम सांसदको संख्या ५८ छ ।
राष्ट्रिय सभामा सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका १७, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टी, नेपालका ३ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १६, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन् । यसैगरी, मनोनित सांसदको संख्या २ छ ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका थिए । शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा १७ र विपक्षमा ३९ सांसदले हस्ताक्षर गरेका थिए ।